भारतसँगको ऊर्जा साझेदारीमा नयाँ अध्याय, जलविद्युत् र प्रसारणमा लगानी बढाउने सहमति – Nepalboli

भारतसँगको ऊर्जा साझेदारीमा नयाँ अध्याय, जलविद्युत् र प्रसारणमा लगानी बढाउने सहमति

   २०८३ मंसिर ८, सोमबार  

काठमाडौं — प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपाल–भारत ऊर्जा सहकार्यलाई थप विस्तार गर्ने महत्वपूर्ण समझदारी भएको छ । विशेषगरी नेपालको जलविद्युत् उत्पादन, प्रसारण पूर्वाधार र विद्युत् व्यापारमा भारतीय लगानी तथा सहकार्य बढाउने सहमति भएको हो ।

प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको सहमतिअनुसार भारतले नेपालका जलविद्युत् आयोजना तथा प्रसारण पूर्वाधारमा लगानी गर्न प्रोत्साहन गर्ने भएको छ । नेपालले भने लगानीका लागि आवश्यक नीतिगत तथा व्यावहारिक वातावरण निर्माण गर्दै सहजीकरण गर्ने प्रतिबद्धता जनाएको छ ।

भ्रमणका क्रममा जारी ‘विकसित भारत र समुन्नत नेपालM साझेदारीको पुनर्कल्पना’ शीर्षकको संयुक्त दृष्टिकोण दस्ताबेजमा ऊर्जा क्षेत्रलाई द्विपक्षीय सहकार्यको प्रमुख आधारका रूपमा अघि बढाइएको छ ।

‘विद्युत् क्षेत्र सहकार्यसम्बन्धी भारत–नेपाल संयुक्त दृष्टिकोण पत्र’मा दुवै देशले बजारको माग र पारस्परिक लाभलाई आधार बनाएर विद्युत् व्यापार विस्तारका नयाँ सम्भावना खोज्ने उल्लेख छ ।

जलस्रोतको बहुआयामिक उपयोग तथा बाढी नियन्त्रणलाई समेत प्राथमिकतामा राख्दै पञ्चेश्वर, सप्तकोसी र सुनकोसी बहुउद्देश्यीय आयोजनासहित निर्माणाधीन तथा प्रस्तावित जलविद्युत् परियोजनालाई अघि बढाउने सहमति भएको छ ।

ऊर्जा सहकार्य जलविद्युत्मा मात्र सीमित नराखी सौर्य तथा भूगर्भीय ऊर्जाको विकासमा समेत सहकार्य गर्ने तयारी छ । नेपालमा हरित हाइड्रोजनसम्बन्धी परीक्षण परियोजना सञ्चालन गर्ने विषय पनि संयुक्त दस्ताबेजमा समेटिएको छ ।

विपद् पूर्वसूचना र हिमताल अनुगमनमा सहकार्य

नेपाल र भारतले बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्बाट हुने क्षति न्यूनीकरणका लागि पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउने भएका छन् ।

यसका लागि जल तथा मौसमसम्बन्धी तथ्याङ्क आदानप्रदान, हिमतालको नियमित अनुगमन तथा वास्तविक समयमै सूचना प्रवाह गर्ने दुईतर्फी संयन्त्र विकास गरिनेछ । संयुक्त विपद् राहत तथा मानवीय सहायता अभ्यास, तालिम र क्षमता अभिवृद्धिमा समेत सहकार्य गरिने भएको छ ।

वातावरण तथा जलस्रोत व्यवस्थापनमा भारतले आफ्नो प्राविधिक ज्ञान र विशेषज्ञता नेपालसँग आदानप्रदान गर्नेछ । नेपाली युवा पेसाकर्मी, सरकारी अधिकारी तथा विज्ञलाई नीति निर्माण, वन विज्ञान, जोखिम नक्साङ्कन र जलवायु उत्थानशील कृषिलगायतका क्षेत्रमा तालिम उपलब्ध गराउने योजना पनि अघि सारिएको छ ।

अन्तर्राष्ट्रिय सौर्य गठबन्धन, विपद् उत्थानशील पूर्वाधार गठबन्धन, इसिमोड तथा अन्तर्राष्ट्रिय बिग क्याट गठबन्धनजस्ता बहुपक्षीय मञ्चमा समेत नेपाल–भारत सहकार्य विस्तार गर्ने सहमति भएको छ ।

डिजिटल नेपाल निर्माणमा भारतको प्राविधिक सहयोग

ऊर्जा र जलस्रोतसँगै डिजिटल शासन प्रणालीलाई पनि दुई देशबीचको सहकार्यको नयाँ क्षेत्रका रूपमा अघि बढाइएको छ ।

डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनका लागि डिजिटल पहिचान, भुक्तानी प्रणाली तथा विद्युतीय शासनसम्बन्धी भारतको अनुभव र प्राविधिक ज्ञान नेपालले उपयोग गर्ने भएको छ ।

डिजिटल सार्वभौमसत्ता र तथ्याङ्क सुरक्षाका मान्यतालाई ध्यानमा राख्दै डिजिटल सार्वजनिक पूर्वाधार निर्माणमा समेत सहकार्य गरिने दस्ताबेजमा उल्लेख छ ।

त्यस्तै, संस्थागत क्षमता अभिवृद्धिका लागि भारतको राष्ट्रिय सुशासन केन्द्र -एनसीजीजी_ मार्फत नेपाली निजामती कर्मचारीलाई भारतमा तालिम उपलब्ध गराउने सहमति भएको छ ।

प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा भएको समझदारीले नेपाल–भारत सम्बन्धलाई परम्परागत ऊर्जा सहकार्यबाट अघि बढाउँदै जलस्रोत, विपद् व्यवस्थापन, जलवायु उत्थानशीलता, डिजिटल पूर्वाधार र सार्वजनिक प्रशासनसम्म विस्तार गर्ने आधार तयार गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै