अग्रिम टिकट खुल्नुअघि नै नयाँ बसपार्कमा यात्रुको भीड, राति ९ बजेदेखि लाइन
काठमाडौं— दसैँ मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै काठमाडौंको नयाँ बसपार्कमा अग्रिम बस टिकट लिन यात्रुको लाइन लाग्न थालेको छ । अग्रिम टिकट बुकिङ खुल्नुअघि नै बझाङ, बाजुरा र धनगढी जाने यात्रु बिहीबार रातिदेखि लाइनमा बसेका हुन् ।
नयाँ बसपार्क सञ्चालन गर्दै आएको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक पङ्कज मल्लका अनुसार बिहीबार राति ९ बजेदेखि नै यात्रुले टिकट लिन लाइन बस्न सुरु गरेका थिए ।
दसैँका लागि घर जाने यात्रुको चापलाई ध्यानमा राख्दै सरकारले शुक्रबारदेखि अग्रिम बस टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो । यातायात व्यवस्था विभागमा असोज २० गते मंगलबार विभाग, नेपाल प्रहरी, यातायात व्यवसायी तथा मजदुरबीच भएको बैठकले असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो ।
टिकट बुकिङ सुरु हुनुअघि नै यात्रुहरू लाइनमा बस्न थालेपछि नयाँ बसपार्कमा टिकट व्यवस्थापनलाई सहज बनाउन तयारीसमेत गरिएको छ । लोत्से बहुउद्देश्यीय प्रालिले अग्रिम टिकट बुकिङका लागि नयाँ बसपार्कमा थप १५ वटा टिकट काउन्टर सञ्चालनमा ल्याएको छ ।
दसैँमा घर फर्किने यात्रुको चाप बढ्दै जाँदा अग्रिम टिकट बुकिङलाई व्यवस्थित बनाउनु र यात्रुलाई सहज रूपमा टिकट उपलब्ध गराउनु यातायात व्यवस्थापनका लागि चुनौतीपूर्ण हुने देखिएको छ ।