चाडपर्वमा हवाई भाडा बढेपछि सरकारको हस्तक्षेप, सस्तोमा टिकट बेच्न वायुसेवा कम्पनी सहमत – Nepalboli

चाडपर्वमा हवाई भाडा बढेपछि सरकारको हस्तक्षेप, सस्तोमा टिकट बेच्न वायुसेवा कम्पनी सहमत

   २०८३ आश्विन २२, बिहीबार  

काठमाडौँ— चाडपर्वको समयमा आन्तरिक हवाई भाडा बढेको गुनासोपछि सरकारले वायुसेवा कम्पनीहरूसँग छलफल गर्दै यात्रुलाई सहुलियतमा टिकट उपलब्ध गराउने सहमति गराएको छ ।

प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशन तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलको सक्रियतामा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले बिहीबार आन्तरिक वायुसेवा कम्पनीका पदाधिकारी तथा प्रतिनिधिसँग छलफल गरेको हो ।

छलफलमा सरकारले स्वीकृत गरेको अधिकतम भाडादरभन्दा कम मूल्यमा टिकट बिक्री गर्ने सहमति भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । चाडपर्वमा घर फर्किने यात्रुको चापलाई ध्यानमा राख्दै यात्रुलाई अतिरिक्त आर्थिक भार नपर्ने गरी टिकट बिक्री गर्ने विषयमा वायुसेवा कम्पनीहरू सहमत भएका हुन् ।

यस्तै, टिकटको मूल्यबारे यात्रुलाई स्पष्ट जानकारी उपलब्ध गराउन सम्बन्धित वायुसेवा कम्पनीले आफ्नो आधिकारिक वेबसाइट तथा मोबाइल एपमा भाडादर अनिवार्य रूपमा सार्वजनिक गर्नुपर्ने सहमति भएको छ ।

चाडपर्वको समयमा यात्रुको चाप बढ्ने मौका छोपेर आन्तरिक हवाई भाडा अस्वाभाविक रूपमा बढाइएको गुनासो आएपछि सरकारले यस विषयमा चासो देखाएको हो ।

नेपालमा आन्तरिक हवाई सेवाको न्यूनतमदेखि अधिकतम भाडादर तत्कालीन पर्यटनमन्त्रीस्तरीय निर्णयबाट २०७२ साल मंसिर २७ गते निर्धारण गरिएको थियो । सोही स्वीकृत अधिकतम भाडादरलाई आधार मानेर यात्रुलाई थप राहत दिने गरी वायुसेवा कम्पनीहरूले टिकट बिक्री गर्ने सहमति गरेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै