बुढीगण्डकी फेरि थुनियो, चुमनुब्रीमा बाढीको जोखिम बढ्यो
गोरखा— गोरखाको चुमनुब्री गाउँपालिका क्षेत्रमा बुढीगण्डकी नदी फेरि थुनिएको छ । नदीमा करिब १५ मिनेटदेखि जलप्रवाह नदेखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटाले जानकारी दिएका छन् ।
बुढीगण्डकीमा जलप्रवाह रोकिएपछि नदी आसपासका बस्तीमा जोखिम बढेको छ । यसअघि आएको बाढीका कारण पैयू र बगर गाउँका ३५ घर बगिसकेका छन् । दोभान, घट्टेखोला, जगत् र सल्लेरी गाउँमा पनि व्यापक क्षति पुगेको जनाइएको छ ।
आज बिहान करिब ४ बजे ती गाउँमा बाढी पसेपछि स्थानीयवासी सुरक्षित स्थानतर्फ सरेका थिए । नदी पुनः थुनिएपछि जोखिम थप बढ्न सक्ने भन्दै स्थानीय प्रशासनले आसपासका बस्तीमा सतर्कता बढाएको छ ।
जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक आकाश कँडेलका अनुसार बाढीको जोखिमलाई ध्यानमा राखेर सिर्दिबास तथा धार्चे गाउँपालिकाका खोर्लाबेँसी, माछाखोला, सोती, आर्खेत र आरुघाटका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ ।
प्रशासनले नदीको अवस्था र बाढीको जोखिमलाई निरन्तर निगरानी गरिरहेको जनाएको छ ।