दुर्गा प्रसाईंले लिए नयाँ दलको नेतृत्व, ३५१ सदस्यीय केन्द्रीय समिति
काठमाडौँ— मेडिकल व्यवसायी तथा सामाजिक अभियन्ता दुर्गा प्रसाईंले आफ्नै नेतृत्वमा नयाँ राजनीतिक दल गठन गरेका छन् । निर्वाचन आयोगबाट ‘नेपाल पथ दल’ नाममा दल दर्ता भएसँगै प्रसाईं औपचारिक रूपमा नयाँ राजनीतिक दलको नेतृत्वमा आएका हुन् ।
यसअघि प्रसाईंले नेतृत्व गर्दै आएको ‘नागरिक बचाउ महाअभियान’लाई गत फागुनमा निर्वाचनअघि नागरिक बचाउ दल’ नाममा निर्वाचन आयोगमा दर्ता गरिएको थियो । उक्त दलका अध्यक्ष माधवप्रसाद खतिवडा थिए ।
हाल सोही दलको नाम संशोधन गरी ‘नेपाल पथ दल’ कायम गरिएको छ । नाम संशोधनको प्रमाणपत्रसमेत प्राप्त भइसकेको छ।
नयाँ दलको केन्द्रीय समिति ३५१ सदस्यीय रहेको छ । तर, प्रसाईं बाहेक अन्य पदाधिकारी भने चयन गरिएको छैन । दलले चुनाव चिन्हका रूपमा परिवारसहितको घर लिएको छ ।
यसअघि प्रसाईंले राप्रपाबाट अलग भएका डा.धवलशम्शेर राणासँग सहकार्य गर्दै ‘जय नेपाल पार्टी’ गठन गर्ने तयारी गरेका थिए । दुवै पक्षबीच पार्टी गठनको घोषणा भए पनि केही विषयमा सहमति जुट्न नसकेपछि प्रसाईं उक्त प्रक्रियाबाट अलग भएका थिए ।
धवलशम्शेर नेतृत्वको ‘जय नेपाल पार्टी’ अहिले निर्वाचन आयोगमा दर्ता प्रक्रियामै रहेको बताइएको छ । नेपाल पथ दलका नेता खतिवडाले भने दुवै दलबीच तत्काल एकीकरणको सम्भावना नरहेको स्पष्ट पारेका छन्।
उनका अनुसार नेपाल पथ दल दर्ता भइसकेकाले अन्य पक्ष पार्टीमा आबद्ध हुन चाहे स्वागत गरिनेछ।