तीन राष्ट्रिय पुरस्कारदेखि ‘वेलकम’सम्मः नाना पाटेकरको ७५ वर्षमा निधन
काठमाडौँ— भारतीय सिनेमाका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ । गोवास्थित आफ्नै निवासमा बिहीबार बिहान गम्भीर कार्डियक अरेस्ट भएपछि उनलाई अस्पताल लगिएको थियो । चिकित्सकहरूले करिब ४५ मिनेटसम्म सीपीआरमार्फत बचाउने प्रयास गरे पनि उनको ज्यान बचाउन सकेनन् । अस्पताल स्रोतका अनुसार उनलाई बिहान ५ः२० बजे मृत घोषणा गरिएको हो।
निधनपछि घटनालाई मेडिको–लिगल केसका रूपमा दर्ता गरिएको छ भने पोस्टमार्टमको प्रक्रिया अघि बढाइएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
हिन्दी र मराठी दुवै भाषाका चलचित्रमा आफ्नो प्रभावशाली अभिनयका लागि परिचित पाटेकरले भारतीय सिनेमामा चार दशकभन्दा लामो समय बिताएका थिए । गम्भीरदेखि हास्य भूमिकासम्म उत्तिकै प्रभाव छाड्न सफल उनका चरित्रहरू दर्शकमाझ लामो समयसम्म चर्चामा रहे ।
सन् १९८९ मा प्रदर्शित ‘परिन्दा’मा अन्नाको भूमिका निर्वाह गरेपछि पाटेकरले राष्ट्रियस्तरमा ठूलो पहिचान बनाएका थिए । यही भूमिकाका लागि उनले उत्कृष्ट सहायक अभिनेताको राष्ट्रिय फिल्म पुरस्कार प्राप्त गरे ।
त्यसपछि सन् १९९४ को ‘क्रान्तिवीर’बाट उत्कृष्ट अभिनेताको राष्ट्रिय फिल्म पुरस्कार र सन् १९९६ को ‘अग्निसाक्षी’ बाट उत्कृष्ट सहायक अभिनेताको राष्ट्रिय फिल्म पुरस्कार जिते । यसरी उनले आफ्नो अभिनय करियरमा तीनवटा राष्ट्रिय फिल्म पुरस्कार हात पारे ।
भारतीय सिनेमामा पुर्याएको योगदानका लागि उनलाई सन् २०१३ मा पद्मश्रीबाट सम्मानित गरिएको थियो ।
गम्भीर तथा सामाजिक विषयका चलचित्रमा प्रभावशाली भूमिका निर्वाह गर्ने पाटेकर हास्य भूमिकामा पनि उत्तिकै लोकप्रिय बने । सन् २००७ को वेलकम’मा उनले निर्वाह गरेको ग्याङ्स्टर उदय शेट्टीको चरित्र निकै चर्चित भयो । उनले यसको सिक्वेल ‘वेलकम ब्याक’मा पनि यही भूमिका दोहोर्याएका थिए ।
पाटेकरको अभिनय केवल पर्दासम्म सीमित थिएन। ‘प्रहारः द फाइनल अट्याक’का लागि उनले भारतीय सेनासँग सैन्य तालिमसमेत लिएका थिए । उनले मराठा लाइट इन्फेन्ट्रीसँग तालिम लिएर सैनिक जीवन र अनुशासनलाई नजिकबाट बुझ्ने प्रयास गरेका थिए ।
सन् १९९९ को कारगिल युद्धका क्रममा पनि उनी सैनिकहरूसँग बसेका थिए । रिपोर्टअनुसार उनले दुई साताभन्दा बढी समय सैनिकहरूसँग बिताउँदै विभिन्न पोस्टमा पुगेर उनीहरूको हौसला बढाएका थिए । पछि पाटेकरले आफू क्विक रियाक्सन टिमको हिस्सा समेत बनेको बताएका थिए ।
विभिन्न अन्तर्वार्तामा उनले देशका लागि हरेक नागरिकले आफ्नो तर्फबाट केही न केही योगदान गर्नुपर्ने धारणा राख्दै आएका थिए ।
नाना पाटेकरको निधनसँगै भारतीय चलचित्र क्षेत्रले प्रभावशाली अभिनेता मात्र होइन, फरक चरित्रलाई आफ्नै शैलीमा जीवन्त बनाउने एक विशिष्ट कलाकार गुमाएको छ ।