संयुक्त राष्ट्रसंघ महासभाबाट फर्किए परराष्ट्रमन्त्री खनाल, जलवायु मुद्दामा नेपालको धारणा प्रस्तुत
काठमाडौँ— परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको प्रतिनिधित्व गर्दै स्वदेश फर्किएका छन् ।
महासभा तथा त्यसअन्तर्गत आयोजित विभिन्न उच्चस्तरीय कार्यक्रम र द्विपक्षीय भेटवार्तामा सहभागी भएर मन्त्री खनाल बुधबार बिहान काठमाडौँ आइपुगेका हुन् । उनी महासभामा सहभागी हुन असोज ४ गते अमेरिकाको न्युयोर्क प्रस्थान गरेका थिए ।
भ्रमणका क्रममा मन्त्री खनालले नेपालको तर्फबाट ‘सगरमाथादेखि समुद्रसम्मः जलवायु उत्थानशील भविष्यका लागि आवश्यक कार्यको आह्वान’ विषयक उच्चस्तरीय विशेष कार्यक्रम आयोजना गरेका थिए । कार्यक्रममा नेपालले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका असर तथा जलवायु उत्थानशीलताका लागि आवश्यक अन्तर्राष्ट्रिय सहकार्यको विषय उठाएको थियो ।
महासभाको अवसरमा मन्त्री खनालले विभिन्न देशका समकक्षी तथा उच्च अधिकारीसँग द्विपक्षीय भेटवार्ता पनि गरेका थिए । ती भेटमा आपसी हित, द्विपक्षीय सम्बन्ध तथा अन्तर्राष्ट्रिय सहकार्यका विविध विषयमा छलफल भएको जनाइएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार महासभामा नेपालको सक्रिय सहभागिता तथा विभिन्न मुलुकका प्रतिनिधिसँग भएका भेटवार्ताले नेपालको प्राथमिकता र धारणा अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्न योगदान पुगेको छ ।