आज पाँच संसदीय समितिको बैठक, स्वास्थ्यदेखि राष्ट्रिय सेवा दल विधेयकसम्म छलफल
काठमाडौं- संघीय संसद्अन्तर्गत आज पाँच वटा संसदीय समितिको बैठक बस्दैछ। बैठकहरूमा विभिन्न प्रतिवेदन, विधेयक तथा समसामयिक विषयमा छलफल हुने कार्यसूची तय गरिएको छ।
बिहान १० बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको वर्तमान अवस्था, समसामयिक चुनौती तथा भावी कार्ययोजनाबारे मन्त्रालयका प्रतिनिधिसँग छलफल गरिनेछ।
बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा विभिन्न उपसमितिले तयार पारेका प्रतिवेदन प्रस्तुत गरिने र ती प्रतिवेदनमाथि छलफल हुने कार्यसूची रहेको छ।
सोही समयमा बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा मुस्लिम आयोगको कामकारबाही, उपलब्धि तथा प्रगतिबारे आयोगका पदाधिकारीसँग छलफल हुनेछ।
दिउँसो १ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ माथि सैद्धान्तिक छलफल गरिनेछ। साथै, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र विभिन्न कारागार कार्यालयको स्थलगत अनुगमन प्रतिवेदन प्रस्तुत गर्ने विषयमा पनि छलफल हुनेछ।
यस्तै, दिउँसो २:३० बजे बस्ने राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिको बैठकमा मुलुकको समसामयिक अवस्था र राष्ट्रिय महत्वका विषयमा समीक्षा तथा छलफल गरिने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ।