गएको आर्थिक बर्षमा वैदेशिक रोजगारीको सिलसिलामा एक हजार २०८ नेपालीको मृत्यूू – Nepalboli

गएको आर्थिक बर्षमा वैदेशिक रोजगारीको सिलसिलामा एक हजार २०८ नेपालीको मृत्यूू

   १ भाद्र २०८०, शुक्रबार  

०६५ यता बैदेशिक रोजगारीको क्रममा १२ हजार १४० जनाले ज्यान गुमाएको तथ्यांक

गएको वर्ष २०७९/८० मा मात्रै एक हजार २०८ नेपालीले वैदेशिक रोजगारीका क्रममा आफनो ज्यान गुमाएका छन । ज्यान गुमाउनेहरुमा ४५ महिला रहेको वैदेशिक रोजगार बोर्डको तथ्यांकले यो तस्बीर देखाएको छ । यो सङ्ख्या गएको आर्थिक बर्षमा विदेशमा मृत्य् भएर वैदेशिक रोजगार बोर्डको सचिवालयबाट आर्थिक सहायता रकम लिनेको सङ्ख्याको आधारमा तय गरिएको छ । आर्थिक सहायता नलिनेहरुको संख्या पनि उल्लेख्य रुपमा रहेको जानकारहरुको भनाई छ ।

बोर्डका अनुसार यस अवधिमा एक हजार २०८ मृतक श्रमिकका परिवारलाई आर्थिक सहायतास्वरूप ६५ करोड ५१ लाख ८० हजार रुपियाँ प्रदान गरिएको छ । पर्याप्त तालिम, सिप र सुरक्षाको ग्यारेन्टीबिनै वैदेशिक रोजगारीमा पठाउँदा ठुलो सङ्ख्यामा नेपाली श्रमिक मृत्युकुण्डमा होमिन पुगेका हुन् । तथ्याङ्क अनुसार औसतमा दैनिक चार वटा शव काठको बन्द बाकसमा विदेशबाट नेपालको अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा आइपुग्ने गरेका छन् ।

बोर्डका अनुसार आव २०६५/६६ साउनदेखि आव २०७९/८० सम्म १२ हजार १४० जनाले ज्यान गुमाएका छन् । यो सङ्ख्या बोर्डको सचिवालयबाट आर्थिक सहायता रकम लिनेको मात्रै हो । यस अवधिमा मलेसियामा सबैभन्दा बढी नेपालीले ज्यान गुमाएका छन् । आव २०७८/७९ मा वैदेशिक रोजगारीका क्रममा मृत्यु हुनेको सङ्ख्या एक हजार ४८९ जना रहेको बोर्डले जनाएको छ । आव २०७८/७९ को तुलनामा २०८९/८० मा विदेशमा मृत्यु हुनेको सङ्ख्या २८१ जना कम छ । अघिल्ला वर्ष कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या गएको वर्षभन्दा बढी भएको बोर्डका निर्देशक राजन पौडेलले जानकारी दिनुभयो ।

आव २०७६/७७ मा वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका ६५६ श्रमिकका आफन्तलाई बोर्डबाट सात लाख रुपियाँको दरले आर्थिक सहायता दिएकामा सो सङ्ख्या आव २०७७/७८ मा वृद्धि भएर एक हजार २४२ पुगेको थियो ।

वैदेशिक रोजगारीका क्रममा अधिकांशको मृत्युको कारण कार्यस्थलको दुर्घटना र सडक दुर्घटनामा मृत्यु हुने गरेको छ । कतिपय नेपालीले सुतेकै ठाउँमा विविध कारणले मृत्युवरण गर्ने गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै