गएको आर्थिक बर्षमा वैदेशिक रोजगारीको सिलसिलामा एक हजार २०८ नेपालीको मृत्यूू – Nepalboli

गएको आर्थिक बर्षमा वैदेशिक रोजगारीको सिलसिलामा एक हजार २०८ नेपालीको मृत्यूू

   २०८० भाद्र १, शुक्रबार  

०६५ यता बैदेशिक रोजगारीको क्रममा १२ हजार १४० जनाले ज्यान गुमाएको तथ्यांक

गएको वर्ष २०७९/८० मा मात्रै एक हजार २०८ नेपालीले वैदेशिक रोजगारीका क्रममा आफनो ज्यान गुमाएका छन । ज्यान गुमाउनेहरुमा ४५ महिला रहेको वैदेशिक रोजगार बोर्डको तथ्यांकले यो तस्बीर देखाएको छ । यो सङ्ख्या गएको आर्थिक बर्षमा विदेशमा मृत्य् भएर वैदेशिक रोजगार बोर्डको सचिवालयबाट आर्थिक सहायता रकम लिनेको सङ्ख्याको आधारमा तय गरिएको छ । आर्थिक सहायता नलिनेहरुको संख्या पनि उल्लेख्य रुपमा रहेको जानकारहरुको भनाई छ ।

बोर्डका अनुसार यस अवधिमा एक हजार २०८ मृतक श्रमिकका परिवारलाई आर्थिक सहायतास्वरूप ६५ करोड ५१ लाख ८० हजार रुपियाँ प्रदान गरिएको छ । पर्याप्त तालिम, सिप र सुरक्षाको ग्यारेन्टीबिनै वैदेशिक रोजगारीमा पठाउँदा ठुलो सङ्ख्यामा नेपाली श्रमिक मृत्युकुण्डमा होमिन पुगेका हुन् । तथ्याङ्क अनुसार औसतमा दैनिक चार वटा शव काठको बन्द बाकसमा विदेशबाट नेपालको अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा आइपुग्ने गरेका छन् ।

बोर्डका अनुसार आव २०६५/६६ साउनदेखि आव २०७९/८० सम्म १२ हजार १४० जनाले ज्यान गुमाएका छन् । यो सङ्ख्या बोर्डको सचिवालयबाट आर्थिक सहायता रकम लिनेको मात्रै हो । यस अवधिमा मलेसियामा सबैभन्दा बढी नेपालीले ज्यान गुमाएका छन् । आव २०७८/७९ मा वैदेशिक रोजगारीका क्रममा मृत्यु हुनेको सङ्ख्या एक हजार ४८९ जना रहेको बोर्डले जनाएको छ । आव २०७८/७९ को तुलनामा २०८९/८० मा विदेशमा मृत्यु हुनेको सङ्ख्या २८१ जना कम छ । अघिल्ला वर्ष कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या गएको वर्षभन्दा बढी भएको बोर्डका निर्देशक राजन पौडेलले जानकारी दिनुभयो ।

आव २०७६/७७ मा वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका ६५६ श्रमिकका आफन्तलाई बोर्डबाट सात लाख रुपियाँको दरले आर्थिक सहायता दिएकामा सो सङ्ख्या आव २०७७/७८ मा वृद्धि भएर एक हजार २४२ पुगेको थियो ।

वैदेशिक रोजगारीका क्रममा अधिकांशको मृत्युको कारण कार्यस्थलको दुर्घटना र सडक दुर्घटनामा मृत्यु हुने गरेको छ । कतिपय नेपालीले सुतेकै ठाउँमा विविध कारणले मृत्युवरण गर्ने गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै