सुन तस्करीमा संलग्न ६८ जनालाई कारबाहीको सिफारिस
सुनको अवैध तस्करीबारे जाँचबुझ गर्न गठित आयोगले ६८ जनालाई कारबाहीको सिफारिस गरेको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई बिहीबार बुझाइएको प्रतिवेदनमा सुन तस्करीमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा संलग्न ती व्यक्तिलाई कारबाही गर्न सिफारिस गरिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गत साउन २ गते बरामद भएको ६१ केजी र २०७९ पुस १७ गते विमानस्थल भन्सार कार्यालयले विद्युतीय चुरोट (भेप) भित्र लुकाएर ल्याएको नौ केजी तस्करीको सुन बरामदपछि सरकारले गत असोज १४ जाँचबुझ आयोग गठन गरेको थियो ।
उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्य अध्यक्ष तथा पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक सहकुल थापा, पूर्वसहसचिवद्वय किशोरजङ्ग कार्की र प्रेमराज जोशी सदस्य रहेको आयोगलाई सरकारले अदालत सरहको अधिकारसहित जिम्मेवारी तोकेको थियो । सुन तस्करीबारे स्वतन्त्र र निष्पक्ष जाँचबुझ गरी संलग्नलाई कानुनी कारबाहीको सिफारिस, तस्करी नियन्त्रणका लागि मौजुदा कानुनको परिमार्जन, संरचनागत सुधारका लागि सुझाव पेस गर्न गठन भएको सो आयोगले झन्डै पाँच महिनाको विस्तृत अध्ययनसहित ४८५ पृष्ठ, १३ अनुच्छेद र ९ अनुसूची समेटिएको प्रतिवेदन तयार पारेको हो ।
आयोगका अध्यक्ष डिल्लीराज आचार्यले सुन तस्करीमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा जोडिएका ६८ जना आरोपीसँगको बयान, विभिन्न नौ वटा अन्तर्राष्ट्रिय भन्सार नाकाको स्थलगत अनुगमन तथा ६१ जना विज्ञसँगको परामर्शपछि प्रतिवेदन तयार गरिएको बताउनुभयो ।
प्रतिवेदनमा हङ्कङ हुँदै नेपालमा भइरहेको सुन तस्करीमा मुख्य योजनाकार र लगानी चिनियाँ नागरिक दावा जिङ वाङको रहेको, नेपालमा ल्याउने मुख्य योजनाकार चिनियाँ नागरिक ली हाङ साङ रहेको र नेपालबाट तेस्रो मुलुकमा तस्करीको व्यवस्थापन गर्ने चिनियाँ नागरिक दावा छिरिङ रहेको उल्लेख छ ।
प्रतिवेदनको ३८० पृष्ठसम्म तस्करीको ‘नेक्सस’ अन्तर्राष्ट्रिय गिरोहको भूमिका, कर्मचारी तथा व्यक्तिको भूमिका, मिलेमतो र तस्करीका विभिन्न घटनाक्रम तथा १०५ पृष्ठमा विभिन्न समिति र विज्ञहरूको राय सुझाव समेटिएको छ ।
आयोगले तेस्रो मुलुकबाट नेपाल हुँदै अर्को मुलुकका लागि नेपाललाई ट्रान्जिट बनाएर सुन तस्करी भइरहेको र यसलाई रोक्न नेपालले सुन आयातमा लागाउँदै आएको ‘सिलिङ’ परिमार्जन गर्न सुझाव दिएको छ ।