बाढीपहिरो व्यवस्थापनमा सरकारको फोकस: पूर्वसूचना प्रणालीदेखि हिमपहिरो जोखिमसम्म – Nepalboli

बाढीपहिरो व्यवस्थापनमा सरकारको फोकस: पूर्वसूचना प्रणालीदेखि हिमपहिरो जोखिमसम्म

   २०८३ आश्विन १९, सोमबार  

काठमाडौं— प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय मुलुकका विभिन्न क्षेत्रमा देखिएको बाढीपहिरोलगायत विपद्बाट भएको क्षतिको व्यवस्थापनलाई सरकारले प्राथमिकताका साथ अघि बढाइरहेको बताएका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औँ बैठकमा प्रधानमन्त्री शाहले संघ, प्रदेश र स्थानीय तहबीचको समन्वयमा विपद् व्यवस्थापनका काम अघि बढिरहेको जानकारी दिए ।

उनले उपलब्ध स्रोत, साधन र जनशक्तिलाई परिचालन गर्दै उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई तीव्रता दिइएको बताए । भदौ १० गतेयता देखिएका विपद्का घटनाको व्यवस्थापनमा सरकार निरन्तर सक्रिय रहेको उनको भनाइ थियो ।

बैठकमा गण्डकी, बागमती, मधेश र कोशी प्रदेशका मुख्यमन्त्रीसमेत सहभागी थिए । मुख्यमन्त्रीहरूलाई आश्वस्त पार्दै प्रधानमन्त्री शाहले विपद् व्यवस्थापनको कामलाई प्रभावकारी बनाउन सरकारका सबै संयन्त्र परिचालित रहेको बताए ।

भोटेकोशी–त्रिशूली, गण्डकीलगायत विभिन्न क्षेत्रमा आएको बाढीपहिरोबाट भएको क्षतिको अध्ययन गरी आवश्यक व्यवस्थापनको काम अघि बढाइएको प्रधानमन्त्री शाहले जानकारी दिए ।

उनका अनुसार सरकारले अब विपद् आइसकेपछि उद्धारमा केन्द्रित हुनेभन्दा जोखिम न्यूनीकरण र पूर्वतयारीलाई प्राथमिकता दिने नीतिलिएको छ । त्यसका लागि पूर्वसूचना प्रणालीलाई थप सुदृढ बनाउने तयारी भइरहेको उनले बताए । हिमपहिरोको जोखिम न्यूनीकरणका लागि पनि आवश्यक काम अघि बढाइएको उनको भनाइ छ ।

प्रधानमन्त्री शाहले विपद्का बेला ज्यानको समेत पर्वाह नगरी उद्धार तथा व्यवस्थापनमा खटिएका राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, स्वयंसेवक तथा राजनीतिक दलका प्रतिनिधिसहित सबैप्रति आभार व्यक्त गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै