गगनको दशक–दृष्टिः कांग्रेसलाई ‘राष्ट्रिय शक्ति’ बनाउने प्रस्ताव – Nepalboli

गगनको दशक–दृष्टिः कांग्रेसलाई ‘राष्ट्रिय शक्ति’ बनाउने प्रस्ताव

   २०८३ आश्विन १९, सोमबार  

काठमाडौँ—नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई सत्ता र निर्वाचनकेन्द्रित राजनीतिबाट बाहिर निकाल्दै आगामी दशकलाई ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’को दिशामा अघि बढाउने प्रस्ताव गरेका छन् ।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सोमबार हुने बन्दसत्रमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै थापाले पार्टीको आगामी चार वर्षको कार्यदिशासँगै देशको दीर्घकालीन राजनीतिक र आर्थिक यात्राको खाका अघि सार्ने भएका छन् ।

प्रतिवेदनमा कांग्रेसको विगतको राजनीतिक यात्रा, पछिल्लो निर्वाचनमा देखिएको कमजोरी, संगठनको अवस्था र युवा पुस्तासँग बढ्दो दूरीको समीक्षा गर्दै बदलिँदो राष्ट्रिय परिस्थितिअनुसार पार्टीको भूमिका पुनर्परिभाषित गर्नुपर्नेमा जोड दिइएको छ ।

थापाले कांग्रेसमा देखिएको सत्ता–केन्द्रित राजनीति र संगठनात्मक कमजोरीलाई प्रमुख आत्मसमीक्षाको विषय बनाएका छन् । पछिल्ला दुई दशकको राजनीतिक अभ्यास, परिवर्तनका उपलब्धि र नागरिकका अधुरा अपेक्षाबीचको दूरी पहिचान गरेर पार्टीले आफूलाई रूपान्तरण गर्नुपर्ने उनको निष्कर्ष छ ।

प्रतिवेदनमा भदौको जनउभारदेखि १५औँ महाधिवेशनसम्मका राजनीतिक घटनाक्रमलाई समेत बदलिँदो सामाजिक मनोविज्ञानसँग जोडेर विश्लेषण गरिएको छ । पुस्तान्तरण, बसाइँसराइ, अर्थतन्त्रको अवस्था र विश्व राजनीतिमा भइरहेको तीव्र परिवर्तनलाई कांग्रेसले बेवास्ता गर्न नसक्ने थापाको दृष्टिकोण छ ।

लोकतन्त्रमाथिको असन्तुष्टिलाई राजनीतिक अवसर बन्न नदिने

थापाले नागरिकमा बढिरहेको असन्तुष्टि लोकतन्त्रप्रतिकै अस्वीकारमा परिणत हुन सक्ने जोखिम औँल्याएका छन् ।

लोकरिझ्याइँले वास्तविक जनअसन्तोषलाई गलत राजनीतिक निष्कर्षतर्फ लैजान सक्ने भन्दै कांग्रेसले लोकतन्त्रको पक्षमा आफ्नो ऐतिहासिक भूमिका अझ स्पष्ट बनाउनुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

उनका अनुसार कांग्रेसको जिम्मेवारी निर्वाचन जित्ने वा हार्नेमा मात्र सीमित हुनु हुँदैन। निर्वाचनबीच पनि नागरिकसँग जोडिने, समस्या सुन्ने, तथ्यमा आधारित निष्कर्ष निकाल्ने र समाधान प्रस्तुत गर्ने राजनीतिक संस्कार विकास गर्नुपर्ने प्रस्ताव गरिएको छ ।

‘जिम्मेवार प्रतिपक्ष’ हुँदै राष्ट्रिय शक्तिसम्म

प्रतिवेदनको महत्वपूर्ण प्रस्ताव कांग्रेसलाई केवल निर्वाचनको समयमा सक्रिय हुने दलका रूपमा नभई निरन्तर सामाजिक उपस्थिति भएको राष्ट्रिय शक्तिका रूपमा विकास गर्नु हो ।

जिम्मेवार र स्पष्ट प्रतिपक्षको भूमिका निर्वाह गर्दै नागरिकका मुद्दालाई राजनीतिक एजेन्डामा रूपान्तरण गर्ने, लोकतान्त्रिक संस्थालाई बलियो बनाउने र सार्वजनिक विश्वास पुनर्निर्माण गर्ने कार्यदिशा थापाले अघि सारेका छन् ।

सामाजिक आन्दोलन, पार्टी संगठन र लोकतान्त्रिक संस्थाबीचको सम्बन्धलाई प्रभावकारी बनाउनुपर्ने तथा नयाँ पुस्तालाई नेतृत्व निर्माणको प्रक्रियामा जोड्नुपर्नेमा पनि प्रतिवेदनले जोड दिएको छ ।

राष्ट्रियता, लोकतन्त्र र लोकतान्त्रिक समाजवादको पुनर्व्याख्या

थापाले कांग्रेसका परम्परागत वैचारिक आधारलाई २१औँ शताब्दीको परिवेशअनुकूल पुनर्व्याख्या गर्ने प्रयास गरेका छन् ।

राष्ट्रियता, लोकतन्त्र र लोकतान्त्रिक समाजवादलाई कांग्रेसका मूल राजनीतिक आदर्शका रूपमा राख्दै यी अवधारणालाई समुन्नत नेपाल निर्माणसँग जोडिएको छ ।

राष्ट्रियतालाई स्वाधीनता र सामूहिक स्वशासन, लोकतन्त्रलाई सार्वजनिक शक्तिमाथि नागरिकको स्वामित्व तथा लोकतान्त्रिक समाजवादलाई राजनीतिक स्वतन्त्रतासँगै सामाजिक–आर्थिक स्वतन्त्रतासँग जोडेर व्याख्या गरिएको छ ।

‘समुन्नत नेपाल’: आर्थिक वृद्धिभन्दा फराकिलो अवधारणा

थापाको प्रतिवेदनमा ‘समुन्नत नेपाल’लाई केवल आर्थिक विकासको सूचकसँग सीमित गरिएको छैन। नागरिकको क्षमता, अवसर, सहभागिता र राज्यप्रतिको जवाफदेहितालाई समुन्नतिको आधार मानिएको छ ।

राज्य, नागरिक र संस्थाबीचको सम्बन्धलाई नयाँ ढंगले परिभाषित गर्दै यसलाई ‘Citizenship Operating System’ को अवधारणासँग जोडिएको छ।

अबको कांग्रेस कस्तो ?

प्रतिवेदनले आगामी कांग्रेसलाई ‘विचारमा स्पष्ट, संगठनमा जीवन्त र जनताप्रति जवाफदेही’ बनाउने खाका अघि सारेको छ ।

सदस्यता प्रणालीमा सुधार, नागरिक सहभागिता विस्तार, पार्टीभित्र स्वामित्वको भावना विकास, तहगत समन्वय र आन्तरिक लोकतन्त्र सुदृढीकरणलाई संगठनात्मक सुधारको आधार बनाइएको छ ।

त्यस्तै, अर्थपूर्ण समावेशिता, पाँच पुस्ताबीचको सहकार्य, राष्ट्रिय सरोकारका सामाजिक आन्दोलन, विचार र नेतृत्व निर्माणको केन्द्रका रूपमा कांग्रेसको विकास गर्ने प्रस्ताव गरिएको छ ।

जनप्रतिनिधिका लागि उच्च नैतिक मापदण्ड, स्पष्ट कार्यप्रतिबद्धता, पार्टीको स्वच्छ वित्तीय आधार तथा सार्वजनिक लेखापरीक्षणलाई पनि संगठन सुधारको महत्वपूर्ण पक्षका रूपमा अघि सारिएको छ ।

समग्रमा थापाको प्रतिवेदनले कांग्रेसको विगतको समीक्षा मात्र होइन, आगामी दशकमा पार्टीले देशको राजनीति, लोकतन्त्र र विकासमा निर्वाह गर्नुपर्ने भूमिकाको नयाँ खाका प्रस्तुत गर्न खोजेको देखिन्छ ।

१५औँ महाधिवेशनबाट नेतृत्व चयनसँगै कांग्रेसले आफूलाई कस्तो राजनीतिक शक्तिका रूपमा पुनर्संरचना गर्छ भन्ने प्रश्नको जवाफ पनि थापाको यो दशक-दृष्टिले खोजेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै