रास्वपाको ‘हामी आउँदै छौँ’ अभियानः ७५३ पालिकामा नेताहरू परिचालन – Nepalboli

रास्वपाको ‘हामी आउँदै छौँ’ अभियानः ७५३ पालिकामा नेताहरू परिचालन

   २०८३ आश्विन १८, आईतवार  

काठमाडौँ —राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै देशव्यापी संगठनात्मक तथा जनसंवाद अभियान सञ्चालन गर्ने भएको छ ।

रास्वपाको केन्द्रीय समिति बैठकले असोज २० देखि २७ गतेसम्म सञ्चालन हुने ‘हामी आउँदै छौँ’ अभियान अन्तर्गत केन्द्रीय सदस्य र प्रतिनिधिसभा सदस्यलाई ७७ जिल्लाका ७५३ वटै पालिकामा परिचालन गर्ने निर्णय गरेको हो । अभियानमा नागरिक, पार्टी सदस्य तथा स्थानीय सरोकारवालासँग छलफल गरी सुझाव संकलन गरिनेछ ।

पार्टीले अभियानलाई आगामी स्थानीय निर्वाचनको तयारीसँगै सरकारमा रहेर गरेका काम नागरिकसमक्ष पुर्‍याउने माध्यमका रूपमा अघि सारेको छ । रास्वपा सहमहामन्त्री निशा डाँगीका अनुसार अभियानका क्रममा नागरिकका समस्या सुन्नुका साथै पार्टीका योजना र आगामी निर्वाचनको तयारीबारे पनि जानकारी दिइनेछ ।

उम्मेदवार छनोटको विधिबारे पनि जानकारी

रास्वपाले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियाबारे नागरिकलाई जानकारी गराउने जनाएको छ । पार्टीले यसअघि क्यान्डिडेट क्लब, लिडरसिप एकेडेमी तथा लोकतान्त्रिक छनोट प्रक्रिया समेटिएको रूपरेखा अघि सारेको छ ।

अभियानमार्फत स्थानीय तहमा नेतृत्व छनोटको प्रक्रिया र आगामी निर्वाचनमा पार्टीले अपनाउने विधिबारे नागरिकसँग प्रत्यक्ष संवाद गरिनेछ ।

यसैबीच, रास्वपाले स्थानीय निर्वाचनका लागि महामन्त्री विपिन आचार्यको संयोजकत्वमा केन्द्रीय उम्मेदवार छनोट समिति समेत गठन गरिसकेको छ । समितिमा मिलन लिम्बू, रहबर अन्सारी, तोसिमा कार्की, कविन्द्र बुर्लाकोटी, सुशान्त बैदिक, टासी ल्हाजोम र जनक सिंह धामी सदस्य छन् ।

सरकारका छ महिनाका काम नागरिकमाझ

अभियानको अर्को प्रमुख पक्ष वर्तमान सरकार गठन भएयता भएका कामबारे नागरिकलाई जानकारी गराउनु रहेको रास्वपाले जनाएको छ ।

संसद् र सरकारमार्फत भएका नीतिगत पहल, नागरिकसँग गरिएका प्रतिबद्धताको कार्यान्वयन अवस्था तथा आगामी योजनाबारे स्थानीय तहमा प्रत्यक्ष जानकारी दिइने पार्टीको भनाइ छ ।

रास्वपाका अनुसार अभियान चुनावी तयारीमा मात्र सीमित नरही स्थानीय सरकारको जवाफदेहिता र नागरिक सहभागितासँग जोडिनेछ। पार्टीले नागरिकसँग प्रत्यक्ष संवादमार्फत स्थानीय तहका समस्या, अपेक्षा र सुझाव संकलन गर्ने जनाएको छ ।

यसरी रास्वपाले स्थानीय निर्वाचनअघि संगठन विस्तार, सम्भावित उम्मेदवार पहिचान, जनसंवाद र सरकारका कामको विवरण सार्वजनिक गर्ने चारवटै पक्षलाई एउटै अभियानमा जोडेको देखिन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै