कांग्रेस महाधिवेशन: प्रतिनिधिको दर्ता सुरु
काठमाडौँ— नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिहरूको दर्ता प्रक्रिया सुरु भएको छ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालय बीपी नगरमा शनिबार दिउँसोदेखि प्रतिनिधिहरूको दर्ता सुरु गरिएको हो ।
प्रतिनिधिहरूको सहजताका लागि प्रदेशअनुसार छुट्टाछुट्टै दर्ता कक्षको व्यवस्था गरिएको छ । दर्ता सम्पन्न गरेपछि प्रतिनिधिहरूलाई महाधिवेशन सामग्रीसहितको झोला उपलब्ध गराइएको छ। झोलामा पार्टीको विधान, कपी, कलमलगायत सामग्री राखिएको छ ।
कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन आइतबार काठमाडौंको खुलामञ्चमा हुँदैछ । उद्घाटनपछि असोज १९ र २० गते बन्द सत्र सञ्चालन हुनेछ ।
त्यसपछि असोज २१ र २२ गते निर्वाचन प्रक्रिया सञ्चालन हुने कांग्रेसले जनाएको छ । महाधिवेशनले पार्टीको आगामी नेतृत्व तथा केन्द्रीय कार्यसमिति चयन गर्नेछ ।