नवलपरासीमा बस नालामा खस्दा ६ जनाको मृत्यु, १० घाइते
काठमाडौँ— नवलपरासी -बर्दघाट सुस्ता पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ स्थित एस मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा १० जना घाइते भएका छन् ।
नेपालगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको प्रदेश–३–०१–००६ ख १५५३ नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा सडकबाट नालामा खसेको प्रहरीले जनाएको छ ।
बसमा चालकसहित १८ जना सवार थिए । दुर्घटनापछि ६ जनाको मृत्यु भएको, १० जना घाइते भएको र दुई जना सकुशल रहेको बताइएको छ ।
मृत्यु हुनेमध्ये जाजरकोटको भेरीगंगा नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्रीको पहिचान खुलेको छ । अन्य पाँच मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
घाइतेहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । दुर्घटनाको थप विवरण तथा घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।