सन्तानको दीर्घायुको कामनामा मधेसमा जितिया व्रत सुरु
राजविराज— सन्तानको दीर्घायु, सुस्वास्थ्य र सुख–समृद्धिको कामना गर्दै तराई–मधेसका महिलाले मनाउने जितिया पर्वको व्रत सुरु भएको छ । विशेषगरी मधेसी तथा थारू समुदायका महिलाले श्रद्धा र कठोर निष्ठाका साथ मनाउने यो पर्व पारिवारिक आस्था र सांस्कृतिक पहिचानसँग जोडिएको छ ।
जितियामा व्रतालु महिलाले नदी, पोखरी वा जलाशयमा स्नान गरी पितृ तथा जिमुतवाहन देवताको पूजा गरेर व्रतको सङ्कल्प लिने गर्छन् । त्यसपछि निर्धारित तिथिमा निराहार तथा निर्जल व्रत बस्ने परम्परा छ ।
जितिया पर्वसँग जिमुतवाहनको पौराणिक कथा जोडिएको छ । कथाअनुसार जिमुतवाहनको तपस्या र त्यागबाट प्रभावित भएर सन्तानको दीर्घायुका लागि व्रत बस्ने परम्परा सुरु भएको मानिन्छ । जितियाको कथामा चिल र स्यालको प्रसङ्गसमेत आउँछ, जसले व्रतको नियम पालना र संयमको महत्त्वलाई जोड दिन्छ ।
व्रतको अघिल्लो दिन महिलाले घर–आँगन सफा गरी विभिन्न परिकार खाने तथा भोलिपल्टका लागि पूजाका सामग्री तयार गर्ने गर्छन् । बिहानै नदी वा पोखरीमा स्नान गरी पिना, तेललगायत सामग्रीबाट पूजा गर्ने र पितृलाई तर्पण दिने चलन छ ।
व्रतका क्रममा साँझ सन्तानको सङ्ख्याअनुसार नरिवल तथा फलफूललगायत सामग्री डालीमा राखेर पूजा गरिन्छ । परम्पराअनुसार डाली छोरा, नाति वा पुरुष सदस्यले खोल्ने चलन छ । त्यसपछि प्रसाद चढाएर व्रतालुले पानी तथा खाना ग्रहण गरी व्रत समापन गर्छन् ।
सामाजिक सम्बन्ध जोड्ने अवसर
जितिया धार्मिक अनुष्ठानमा मात्र सीमित छैन । यसले महिलाबीच भेटघाट, सामूहिक दर, गीत–सङ्गीत तथा सांस्कृतिक प्रस्तुतीमार्फत सामाजिक सम्बन्ध बलियो बनाउने अवसरसमेत प्रदान गर्दै आएको छ ।
वर्षौँदेखि भेट हुन नसकेका आफन्त तथा साथीभाइबीच भेटघाट र शुभकामना आदानप्रदान गर्ने अवसरका रूपमा जितिया विकसित हुँदै गएको छ । सामूहिक कार्यक्रममार्फत महिलाले आफ्ना सांस्कृतिक प्रतिभा प्रस्तुत गर्ने अवसरसमेत पाउन थालेका छन् ।
जितियामा जियल, बाँस र घिरौँलाका पातलगायत प्राकृतिक सामग्री प्रयोग गर्ने परम्पराले प्रकृति र स्थानीय वातावरणसँगको सांस्कृतिक सम्बन्धलाई पनि उजागर गर्छ ।
पितृप्रति श्रद्धा व्यक्त गर्ने परम्परा यस पर्वको अर्को महत्वपूर्ण पक्ष हो । महिलाले समेत पितृलाई तर्पण तथा प्रसाद अर्पण गर्ने भएकाले पारिवारिक संस्कारमा महिलाको भूमिकालाई स्थापित गर्ने सांस्कृतिक आधारका रूपमा जितियालाई हेर्ने गरिएको छ ।
यसरी जितिया एकातर्फ सन्तानप्रतिको आमाको समर्पण र मधेसको मौलिक सांस्कृतिक पहिचानसँग जोडिएको पर्व हो भने अर्कोतर्फ बदलिँदो समाजमा यसको परम्परा, स्वास्थ्य र लैङ्गिक समानताबारे बहसको विषयसमेत बन्दै गएको छ ।