होर्मुजमा तेल ट्यांकरमाथि आक्रमणपछि हलचलः विश्व ऊर्जा बजार त्रासमा, अमेरिकाको सैन्य घेराबन्दी कडा
वासिङ्टन डिसी— पश्चिम एसियाको तनाव अब वासिङ्टन र तेहरानबीचको शक्ति संघर्षमा मात्र सीमित रहेन । यो विश्वको इन्धन भण्डार र व्यापारिक धमनीमाथिको लडाइँमा परिणत हुँदै गएको छ ।
स्ट्रेट अफ होर्मुजमा तेल ट्यांकरमाथि भएको भनिएको आक्रमणपछि अन्तर्राष्ट्रिय ऊर्जा बजारमा तरंग पैदा भएको छ । इरानको पर्सियन गल्फ स्ट्रेट अथोरिटीले यूएईसँग सम्बन्धित अल रुबैस, सिनबाड र मर्सिन प्रोसपेरिटीसहित केही ट्यांकरमाथि आक्रमण भएको दाबी गरेको छ । विश्वको झण्डै एक चौथाइ तेल यही साँघुरो जलमार्ग भएर ओहोरदोहोर हुने भएकाले एउटा सानो अवरोधले पनि कच्चा तेलको भाउ आकासिन सक्ने विश्लेषकहरूको चेतावनी छ ।
यही संवेदनशीलतालाई कारण देखाउँदै अमेरिका इरानलाई चारैतिरबाट घेर्ने तयारीमा छ । एक अमेरिकी अधिकारीका अनुसार यूएसएस रुजभेल्टसहित तीनवटा विमानवाहक समूह र दुईवटा ल्यान्डिङ समूह इरान वरपर तैनाथ गर्ने तयारी भइरहेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लाईदुबई विमान प्रकरणमा इरानको हात पुष्टि भए ‘धेरै कडा’ कारबाही गर्ने चेतावनी दिइसकेका छन् ।
तनावको अर्को केन्द्र यमन बनेको छ । हुथीविरुद्ध लडिरहेको यमन सरकारले पूर्ण परिचालनको निर्णय गर्दै आममाफीको प्रस्ताव अघि सारेको छ, भने साउदी अरबले ५ करोड ९० लाख डलर बजेट सहयोग स्वीकृत गरेको छ । यमनका लागि संयुक्त राष्ट्रसंघीय दूत हान्स ग्रुन्डबर्गले ताइजमा बढेको हिंसा र मानवीय क्षतिप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
एकातिर सैन्य घेराबन्दी, अर्कातिर अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले घोषणा गरेको इरानी वित्तीय सञ्जालमाथिको नयाँ प्रतिबन्धले तेहरानमाथिको आर्थिक नाकाबन्दी झनै कसिलो बनेको छ ।
यसले प्रष्ट पारेको छः अबको लडाइँ बन्दुकको मात्र होइन, तेलको ब्यारेल र समुद्री व्यापारिक मार्गको नियन्त्रणका लागि हो ।