चैत पहिलो सातामै स्थानीय तहको चुनाव गराउने तयारी, दलसँग आयोगले थाल्यो छलफल – Nepalboli

चैत पहिलो सातामै स्थानीय तहको चुनाव गराउने तयारी, दलसँग आयोगले थाल्यो छलफल

   २०८३ मंसिर १, सोमबार  

काठमाडौं— निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन चैतको पहिलो साताभित्र गर्ने गरी तयारी अघि बढाएको छ । निर्वाचनको मिति तय गर्ने प्रक्रियाअन्तर्गत आयोगले राजनीतिक दलहरूसँग छलफलसमेत अघि बढाउने भएको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आगामी मंसिर ४ गते राजनीतिक दलका प्रतिनिधिलाई बोलाएर निर्वाचनको तयारी र वातावरणका विषयमा छलफल गरिँदैछ । दलहरूसँगको परामर्शपछि निर्वाचनको मिति निर्धारणका लागि आवश्यक प्रक्रिया अघि बढाइने आयोगको भनाइ छ ।

स्थानीय तह निर्वाचन ऐन, २०७३ ले गाउँसभा वा नगरसभाका सदस्यको कार्यकाल सकिनुभन्दा दुई महिनाअघि स्थानीय तहको निर्वाचन सम्पन्न गर्नुपर्ने व्यवस्था गरेको छ । यही कानुनी प्रावधानलाई आधार बनाएर आयोगले चैतको पहिलो साताभित्र निर्वाचन सम्पन्न गर्ने गरी तयारी थालेको हो ।

संवैधानिक व्यवस्थाअनुसार निर्वाचन आयोगको सिफारिसमा सरकारले स्थानीय तह निर्वाचनको मिति घोषणा गर्नेछ । त्यसअघि राजनीतिक दलहरूसँगको छलफल, कानुनी प्रावधान तथा निर्वाचन व्यवस्थापनका विषयलाई टुंगोमा पुर्‍याउने आयोगको तयारी छ ।

आयोगले निर्वाचनका लागि आवश्यक तयारी अघि बढाएसँगै अब सरकारले आयोगको सिफारिसका आधारमा निर्वाचनको औपचारिक मिति घोषणा गर्ने बाटो खुल्नेछ ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै