अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै आज छठको मुख्य पूजा – Nepalboli

अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै आज छठको मुख्य पूजा

   २०८३ कार्तिक ३०, आईतवार  

काठमाडौं— सूर्यदेवप्रति आस्था प्रकट गर्दै मनाइने छठ पर्वको मुख्य दिन आज देशभर अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदैछ । चार दिनसम्म चल्ने छठको आजको दिनलाई विशेष मानिन्छ । बिहानैदेखि व्रतालुहरू नदी, पोखरी तथा जलाशयका घाटमा पुगेर पूजाको तयारीमा जुटेका छन् ।

कार्तिक शुक्ल चतुर्थीदेखि सुरु भएको छठको मुख्य विधिअन्तर्गत षष्ठीका दिन व्रतालुहरूले निराहार तथा निर्जल व्रत बसेर साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिने गर्छन् । बाँसका डाला, नाङ्लो तथा सुपमा विभिन्न फलफूल, ठेकुवा, कसारलगायतका प्रसाद सजाएर सूर्यदेवको पूजा गरिन्छ ।

छठ केवल धार्मिक अनुष्ठानमा सीमित नभई परिवार, सन्तानको सुख–समृद्धि, स्वास्थ्य र दीर्घायुको कामनासँग जोडिएको पर्वका रूपमा स्थापित छ । व्रतालुहरूले कठोर नियम पालना गर्दै शुद्धता र सात्विकतालाई विशेष महत्व दिने गर्छन् ।

छठको धार्मिक परम्परासँग विभिन्न पौराणिक कथन जोडिएका छन् । महाभारतमा पाण्डवहरूले कठिन परिस्थितिमा सूर्यदेवको आराधना गरेको प्रसंग उल्लेख छ । त्यस्तै, सूर्य पुराणमा अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेको उल्लेख पाइन्छ । सूर्य आराधनाबाट साम्ब कुष्ठरोगबाट मुक्त भएको पौराणिक कथन पनि छ ।

खरनापछि निराहार व्रत

छठको दोस्रो दिन अर्थात् पञ्चमीमा व्रतालुले खरना गर्छन् । दिनभर उपवास बसेर साँझ सखर तथा दूधबाट तयार गरिएको खीरलगायतका प्रसाद चढाई ग्रहण गरिन्छ । त्यसपछि षष्ठीको साँझसम्म व्रतालुहरू कठोर निराहार व्रतमा बस्ने परम्परा छ ।

आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएपछि व्रतालुहरू रातभर जाग्राम बस्ने र भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व सम्पन्न हुनेछ ।

सप्तमीको बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिनु छठको अन्तिम तथा महत्वपूर्ण विधि हो ।

मधेसबाट देशभर फैलिएको पर्व

परम्परागत रूपमा तराई–मधेसमा विशेष उत्साहका साथ मनाइँदै आएको छठ पछिल्ला दशकमा देशव्यापी पर्वका रूपमा विस्तार भएको छ । काठमाडौं उपत्यकासहित पहाडी तथा हिमाली जिल्लाका विभिन्न स्थानमा समेत छठका लागि घाट निर्माण तथा सजावट गरिएको छ ।

राजधानीमा गुह्येश्वरी–गौरीघाट, गहनापोखरी, नागपोखरी, कमलपोखरीलगायतका स्थानमा छठका लागि विशेष तयारी गरिएको छ । बागमती, नख्खु र विष्णुमती नदी किनारमा समेत व्रतालु तथा श्रद्धालुको चहलपहल बढेको छ ।

छठका अवसरमा व्रतालुहरूले चतुर्थीदेखि नै खानपान र आचरणमा विशेष शुद्धता अपनाउने गर्छन् । कतिपय परिवारले कोजाग्रत पूर्णिमापछि नै लसुन, प्याजलगायतका तामसी खाद्य पदार्थ त्यागेर सात्विक भोजन सुरु गर्ने परम्परा पनि कायम राखेका छन् ।

छठको धार्मिक आस्थामा सूर्यलाई जीवन र ऊर्जाको प्रमुख स्रोतका रूपमा पूजा गरिन्छ । सूर्यको प्रकाश र ऊर्जाविना पृथ्वीमा जीवन सम्भव नहुने भएकाले प्रकृति र मानव जीवनबीचको सम्बन्धलाई समेत यो पर्वले प्रतिबिम्बित गर्छ ।

भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चार दिन लामो छठ पर्व विधिवत् रूपमा समापन हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै