महाधिवेशन प्रतिनिधिमा पराजित भएपछि परियारले भने– ‘पद क्षणिक, निष्ठा र सम्बन्ध अजम्बरी’
काठमाडौँ— नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दलित समानुपातिकतर्फ राष्ट्रिय सभा सदस्य तथा पार्टीका प्रमुख सचेतक पदमबहादुर परियार महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुन सकेनन् ।
निर्वाचन परिणामपछि प्रतिक्रिया दिँदै परियारले आफू कुनै गुट वा उपगुटको प्राथमिकतामा नपरी लोकतान्त्रिक विधि र पद्धतिअनुसार निर्वाचनमा सहभागी भएको बताएका छन् । उनले आफूलाई मतदान तथा समर्थन गर्ने क्षेत्रीय प्रतिनिधिप्रति आभार व्यक्त गर्दै परिणामले आफू र आफ्ना समर्थकलाई विचलित नबनाउने उल्लेख गरेका छन् ।
परियारले आगामी दिनमा पनि नेपाली कांग्रेसको चारतारे झण्डामुनि इमानदारी र निष्ठाका साथ राजनीतिमा सक्रिय रहने प्रतिबद्धता जनाएका छन् ।
उनले निर्वाचनका क्रममा जिल्लाका अग्रज तथा युवा नेताहरूबाट प्राप्त व्यवहारलाई आफूले स्मरण गरिरहने बताएका छन् । साथै, दलित समानुपातिकतर्फ विजयी भएका अमृतबहादुर नेपालीलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका छन् ।
निर्वाचनमा प्रतिस्पर्धा गरेका कृष्ण सुनार र रामकृष्ण बि.क। प्रति पनि उनले शुभकामना व्यक्त गरेका छन् । निर्वाचन आयोग, स्वयंसेवक, प्रचारक, शुभेच्छुक तथा आफूलाई विश्वास गरी मतदान गर्ने सबैप्रति परियारले धन्यवाद दिएका छन् ।
पराजयपछि सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै परियारले भनेका छन्, ‘राजनीतिमा पद क्षणिक हुन्छ, तर निष्ठा र सम्बन्ध सदा अजम्बरी हुन्छ।’