संसद् अधिवेशन असोज १६ गते अन्त्य हुने
काठमाडौँ—सरकारले सङ्घीय संसद्को चालु अधिवेशन असोज १६ गतेदेखि अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।
मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो । संविधानअनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद् अधिवेशन बोलाउने तथा अन्त्य गर्ने व्यवस्था छ ।
गत वैशाख २८ गतेदेखि जारी अधिवेशनमा प्रतिनिधिसभाका १० भन्दा बढी विधेयक विभिन्न संसदीय समितिमा छलफल तथा विचाराधीन छन् । अधिवेशन अन्त्यको सिफारिससँगै ती विधेयकको प्रक्रिया तत्कालका लागि प्रभावित हुने भएको छ ।