चाडपर्वको बजारमा साल्ट ट्रेडिङको सहुलियत, सुपथ पसलमा बढ्यो उपभोक्ताको भीड – Nepalboli

चाडपर्वको बजारमा साल्ट ट्रेडिङको सहुलियत, सुपथ पसलमा बढ्यो उपभोक्ताको भीड

   २०८३ आश्विन १५, बिहीबार  

काठमाडौं—चाडपर्व नजिकिएसँगै बजारमा दैनिक उपभोग्य वस्तुको खरिद बढिरहेका बेला साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले सञ्चालनमा ल्याएको सुपथ मूल्य पसल उपभोक्ताको रोजाइमा पर्न थालेको छ ।

दसैँ, तिहार र छठलाई लक्षित गर्दै काभ्रेको बनेपा र धुलिखेलमा सञ्चालनमा ल्याइएका पसलमा बजारभन्दा सहुलियत मूल्यमा खाद्यान्न तथा घरायसी सामग्री पाइने भएपछि उपभोक्ताको चाप बढेको हो ।

बनेपाको तीनदोबाटोस्थित साल्ट ट्रेडिङको वितरण केन्द्रमा सञ्चालित सुपथ मूल्य पसल छठ पर्वसम्म खुला रहनेछ । शनिबारसहित सातै दिन बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने पसलमा नुन, चिनी, चामल, दाल, तेल, घ्यु, पिठो, मसला तथा अन्य दैनिक आवश्यक सामग्री उपलब्ध छन् ।

साल्ट ट्रेडिङ कर्पोरेशन बनेपा शाखाका अनुसार सुपथ पसलका लागि छुट्टै मूल्यसूची निर्धारण गरिएको छ । उनका अनुसार नुन प्रतिकिलो २४ रुपैयाँ र चिनी प्रतिकिलो १०० रुपैयाँमा बिक्री भइरहेको छ ।

त्यस्तै, २५ किलोको भान्साघर स्टिम जिरा मसिनो चामलको मूल्य दुई हजार ५८० रुपैयाँ तोकिएको छ । मङ्गलम, पाल्की, निश्चल, नातिनातिनी र बहुलीलगायत विभिन्न ब्रान्डका चामलसमेत छुटसहित बिक्रीका लागि राखिएका छन् ।

सुपथ पसलमा मुसुरो दाल प्रतिकिलो १४०, रहर २१०, मास २०५ र चना दाल १५५ रुपैयाँमा उपलब्ध छ । मुग दाल, विभिन्न प्रकारका सिमी तथा गेडागुडी पनि छुट मूल्यमा बिक्री भइरहेको कर्पोरेशनले जनाएको छ ।

मनश्री र सिवालिक ब्रान्डका आटा तथा मैदासँगै कोदो, फापरको पिठो तथा मकै र जौको च्याख्लासमेत पसलमा राखिएको छ । डिडीसी घ्यु एक हजार १४०, शान्ति तोरीको तेल ३८० र तृप्ति तोरीको तेल २७० रुपैयाँमा बिक्री भइरहेको छ । सनबिम सूर्यमुखी तेलसमेत उपलब्ध छ ।

खाद्यान्नसँगै अर्गानिक लसुन, अदुवा, दालचिनी, खुर्सानी, बेसारलगायत मसला र विभिन्न ब्रान्डका चिया पनि सुपथ मूल्य पसलमा पाइन्छन् । अन्य घरायसी सामग्रीमा समेत सहुलियत दिइएको कर्पोरेशनले जनाएको छ ।

एसटिसी ग्यास सिलिन्डर दुई हजार १६५ रुपैयाँ, लुनारको दुई हजार वाटको इन्डक्सन कुकटप चार हजार ९६० रुपैयाँ तथा किनमेल गर्ने झोला ३५ रुपैयाँमा उपलब्ध छ ।

बजारमा महँगी बढिरहेका बेला सुपथ पसलबाट दैनिक उपभोग्य सामग्री किन्दा खर्च व्यवस्थापनमा सहज भएको उपभोक्ताको भनाइ छ ।

साल्ट ट्रेडिङले असोज १ गतेदेखि दसैँ, तिहार र छठलाई लक्षित गर्दै देशका विभिन्न स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरेको हो । कर्पोरेशनका अनुसार विर्तामोड, विराटनगर, राजविराज, लहान, जनकपुर, वीरगञ्ज, हेटौँडा, नारायणगढ, त्रिशूली, पोखरा र बागलुङमा समेत यस्ता पसल सञ्चालनमा छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै