हिम्लुङ हिमपहिरोः मृतकको संख्या १५ पुग्यो, एक अझै बेपत्ता – Nepalboli

हिम्लुङ हिमपहिरोः मृतकको संख्या १५ पुग्यो, एक अझै बेपत्ता

   २०८३ आश्विन १५, बिहीबार  

मनाङ— मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा गएको हिमपहिरोमा बेपत्तामध्ये थप आठ जनाको शव भेटिएपछि मृतक आरोहीको संख्या १५ पुगेको छ ।

असोज ११ गते बिहान हिमालको आधार शिविरमा गएको हिमपहिरोमा परेर उनीहरू बेपत्ता भएका थिए । खोजीका क्रममा यसअघि सात जनाको शव फेला परेको थियो भने बिहीबार बिहान चार र दिउँसो थप चार जनाको शव भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार भेटिएका आठ शवमध्ये दुईवटा सदरमुकाम चामे ल्याइसकिएको छ भने थप छ शव फूगाउँसम्म ल्याइएको छ । रात परिसकेकाले हेलिकोप्टर उडान सम्भव नभएकाले बाँकी शव शुक्रबार चामे ल्याउने तयारी छ ।

‘दुई जनाको शव सदरमुकाम चामे ल्याइएको छ, छ शव फूगाउँसम्म ल्याइएको छ,’ सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले भने, ‘रात परिसकेकाले हेलिकोप्टर उडान हुन सक्दैन । शुक्रबार अरु शव ल्याउँछौँ ।’

नेपाली सेनाको हेलिकोप्टरमार्फत शवहरूलाई सुरक्षित स्थानतर्फ ल्याइएको हो । हिमपहिरोमा परी अझै एक जना बेपत्ता रहेका छन् । उनको खोजी कार्य जारी छ ।

यसैबीच नेपाली सेनाको टोलीले स्थानीय तथा अन्य सुरक्षा निकायसँगको समन्वयमा उद्धार तथा व्यवस्थापनका थप काम अघि बढाएको छ । सेनाले चामे गाउँपालिका–४ स्थित ठाडो खोलामा पहिरोका कारण थुनिएको मस्र्याङ्दी नदीको बहाव खुलाउने तथा अवरुद्ध विद्युत् प्रसारण लाइन सञ्चालनमा ल्याउने कामसमेत गरिरहेको छ ।

खोज तथा उद्धारलाई प्रभावकारी बनाउन नेपाल नेशनल माउन्टेन गाइड एसोसिएसन (एनएनएमजीए) ले हिम्लुङ हिमाल क्षेत्रमा ११ सदस्यीय उद्धार दक्ष टोली परिचालन गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै