दुई महिनामै मधेशमा ९२ जनाको मृत्यु, करेन्ट र डुबान मुख्य जोखिम
जनकपुरधाम— मधेश प्रदेशमा चालु आर्थिक वर्षको पहिलो दुई महिनामै विपद्का घटनाबाट ९२ जनाले ज्यान गुमाएका छन् । साउन र भदौमा भएका ४५९ वटा विपद्का घटनामा ४७ पुरुष, १९ महिला र २६ बालबालिकाको मृत्यु भएको हो ।
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका अनुसार विपद्का घटनामा सबैभन्दा धेरै मानवीय क्षति करेन्ट लागेर भएको छ । दुई महिनामा करेन्ट लागेका १०७ घटनामा ३९ जनाको मृत्यु भएको प्रहरी प्रवक्ता एसएसपी प्रभुप्रसाद ढकालले जानकारी दिए ।
त्यसपछि पानीमा डुबेर २९ जनाले ज्यान गुमाएका छन् । बाढी, डुबान, पोखरी, खाल्डाखुल्डी तथा जलाशयमा डुब्ने घटनाका कारण विशेषगरी वर्षायाममा जोखिम बढेको प्रहरीले जनाएको छ ।
यस अवधिमा जङ्गली जनावरको आक्रमणबाट पाँच, चट्याङबाट तीन र आगलागीबाट एक जनाको मृत्यु भएको छ । अन्य विभिन्न विपद्का घटनामा १३ जनाले ज्यान गुमाएका छन् ।
आगलागी र करेन्टका घटना धेरै
प्रहरीको तथ्याङ्कअनुसार दुई महिनामा आगलागीका ११२ र करेन्ट लागेका १०७ घटना भएका छन् । त्यस्तै पानीमा डुब्ने ३७, जङ्गली जनावरको आक्रमणका ३२, बाढीका १२ र चट्याङका १० घटना भएका छन् ।
विपद्का घटनाबाट ५०० भन्दा बढी परिवार प्रभावित भएका छन् । घटनामा मानवीय क्षतिसँगै घर, पशुचौपाया तथा अन्य भौतिक संरचनामा समेत क्षति पुगेको प्रहरीले जनाएको छ ।
आगलागीका कारण मात्रै २१२ परिवारका घर जलेका छन् । यसबाट दुई करोड ७० लाख १३ हजार ३५० रुपैयाँ बराबरको क्षति भएको प्रहरीको तथ्याङ्क छ ।
समग्रमा ४५९ वटा विपद्का घटनाबाट दुई करोड ९२ लाख ४७ हजार ५५५ रुपैयाँ बराबरको भौतिक क्षति भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार करेन्ट, डुबान तथा पानीमा डुब्ने जस्ता घटनामा बालबालिकासमेत जोखिममा पर्ने गरेका छन् । एसएसपी ढकालले विपद्का घटनाबाट हुने मानवीय क्षति कम गर्न पूर्वसावधानी, सुरक्षित विद्युत् प्रयोग र जनचेतना आवश्यक रहेको बताएका छन्।