देउवालाई फकाउनुभन्दा अघि बढ्न रविको गगनलाई सुझाव – Nepalboli

देउवालाई फकाउनुभन्दा अघि बढ्न रविको गगनलाई सुझाव

   २०८३ आश्विन १८, आईतवार  

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाली कांग्रेसको नयाँ नेतृत्वलाई पूर्वसभापति शेरबहादुर देउवाको विषयमा लामो समय अल्झिनुभन्दा नयाँ राजनीतिक यात्रातर्फ अघि बढ्न सुझाव दिएका छन् ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै लामिछानेले देउवालाई लक्षित गर्दै यस्तो धारणा राखेका हुन् ।

‘शेरबहादुर देउवालाई फकाउनुभन्दा छोडिदिँदा राम्रो हुन्छ, म सुझाव दिन चाहन्छु,’ लामिछानेले भने ।

उनले कांग्रेसभित्र नयाँ नेतृत्वले विगतका आन्तरिक विषयमा अल्झिनुभन्दा बदलिँदो राजनीतिक परिस्थिति र नयाँ पुस्ताको अपेक्षाअनुसार पार्टीलाई अघि बढाउनुपर्ने संकेत गरे ।

लामिछानेले कांग्रेसको लामो राजनीतिक इतिहासलाई उसको महत्वपूर्ण राजनीतिक पुँजीका रूपमा व्याख्या गरे । लोकतान्त्रिक आन्दोलनमा कांग्रेसले खेलेको भूमिकाको सम्मान गर्दै उनले इतिहासलाई गौरवका रूपमा मात्र नभई आगामी राजनीतिक यात्राका लागि सिकाइका रूपमा लिनुपर्ने बताए ।

‘कांग्रेसको शक्ति इतिहास हो, कमजोर पनि इतिहास हो,’ लामिछानेले भने, ‘कांग्रेसको इतिहासबाट पाठ सिक्नैपर्छ ।’

उनको भनाइमा कांग्रेसले विगतका उपलब्धिसँगै कमजोरीबाट समेत पाठ सिकेर नयाँ पुस्तालाई स्थान दिँदै बदलिँदो राजनीतिक परिस्थितिअनुसार आफूलाई रूपान्तरण गर्न आवश्यक छ ।

लामिछानेले नयाँ पुस्ताको आकांक्षा र परिवर्तनको चाहनालाई राजनीतिक दलहरूले सम्बोधन गर्नुपर्ने धारणा पनि राखे । उनले कांग्रेसले आफ्नो ऐतिहासिक विरासतलाई कायम राख्दै नयाँ राजनीतिक यात्राका लागि त्यसबाट सिकाइ लिनुपर्ने बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै