कांग्रेस महाधिवेशनको बन्दसत्र सुरु, तीन छुट्टाछुट्टै हलमा प्रतिनिधि छलफलमा – Nepalboli

कांग्रेस महाधिवेशनको बन्दसत्र सुरु, तीन छुट्टाछुट्टै हलमा प्रतिनिधि छलफलमा

   २०८३ आश्विन १९, सोमबार  

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु भएको छ। बन्दसत्रमा महाधिवेशन प्रतिनिधिहरूलाई तीन छुट्टाछुट्टै हलमा विभाजन गरी छलफलमा सहभागी गराइएको छ।

 

बन्दसत्रका लागि हिमाल हल, पहाड हल र तराई–मधेस हल निर्धारण गरिएको छ। प्रदेश तथा विभिन्न समूहका प्रतिनिधिहरूलाई सम्बन्धित हलमा विभाजन गरिएको हो।
हिमाल हलमा कोशी प्रदेशका १ हजार ११७, कर्णाली प्रदेशका २९९ र गण्डकी प्रदेशका ७१५ गरी २ हजार ३३१ प्रतिनिधि सहभागी छन्।

त्यस्तै, पहाड हलमा बागमती प्रदेशका १ हजार २१७ र लुम्बिनी प्रदेशका १ हजार ९ गरी २ हजार २२६ प्रतिनिधि सहभागी छन्।
तराई–मधेस हलमा मधेश प्रदेशका १ हजार २५६, सुदूरपश्चिम प्रदेशका ६५०, जनसम्पर्क समितिका २४५ र भ्रातृ संगठनका २२५ प्रतिनिधि सहभागी छन्।

 

बन्दसत्रमा सभापति गगनकुमार थापाले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, महामन्त्रीले पेश गरेको विधान तथा पार्टी सञ्चालनसम्बन्धी प्रस्ताव, उपसभापतिले पेश गरेको समसामयिक प्रस्तावलगायत विषयमा छलफल हुने कांग्रेसले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै