बाढीपछि अब उद्धारभन्दा पुनर्निर्माणमा जोड, ५ खर्ब ५९ अर्बका योजना अर्थ मन्त्रालयमा पठाइने
काठमाडौँ— सरकारले भोटेकोशी–त्रिशूली बाढीपछिको खोज तथा उद्धार अभियानलाई अत्यावश्यक अवस्थामा बाहेक हालका लागि स्थगन गर्दै पुनर्निर्माण र पुनर्स्थापनालाई प्राथमिकतामा राख्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औँ बैठकले उद्धारको चरणबाट पुनर्निर्माणतर्फ अघि बढ्ने निर्णय गरेको हो ।
बैठकले अत्यावश्यक खोज तथा उद्धारका काम भने निरन्तर राख्दै प्रभावित क्षेत्रमा पुनर्निर्माण र पुनर्स्थापनाका कार्यक्रमलाई तीव्रता दिन सम्बन्धित निकायलाई निर्देशन दिएको छ । जिल्ला सुरक्षा समिति, जिल्ला विपद् व्यवस्थापन समिति, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समिति र स्थलगत अध्ययनबाट प्राप्त सिफारिसका आधारमा यस्तो निर्णय गरिएको हो ।
५०४ योजनाका लागि साढे ५ खर्बभन्दा बढी बजेट
परिषद्ले बाढी तथा मनसुनजन्य विपद्बाट प्रभावित क्षेत्रको पुनर्निर्माण र पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय तथा निकायबाट प्रस्तावित ५०४ वटा योजना तथा कार्यक्रम अघि बढाउने निर्णय गरेको छ ।
ती योजनाका लागि ५ खर्ब ५९ अर्ब १७ करोड ७२ लाख २७ हजार रुपैयाँ बजेट स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस पठाइने भएको छ ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ अनुसार स्वीकृत योजनाको स्रोत व्यवस्थापन अर्थ मन्त्रालयमार्फत गरिनेछ ।
त्यसैगरी, लागत अनुमान स्पष्ट नभएका तथा प्राथमिकता निर्धारण हुन बाँकी आयोजनाको विवरण प्राप्त भएपछि आवश्यक बजेट व्यवस्थाका लागि अर्थ मन्त्रालयमा सिफारिस गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई निर्देशन दिइएको छ ।
संघदेखि स्थानीय तहसम्म समन्वयमा पुनर्निर्माण
बैठकमा प्रधानमन्त्री शाहले विपद् व्यवस्थापनका लागि संघ, प्रदेश र स्थानीय सरकारबीच भइरहेको समन्वयलाई पुनर्निर्माण र पुनर्स्थापनाको चरणमा पनि निरन्तरता दिइने बताएका छन् ।
पुनर्निर्माणको काममा विपक्षी दल, नेपाली कांग्रेसका संसदीय दलका नेता तथा बागमती, गण्डकी, मधेश र कोशी प्रदेशका मुख्यमन्त्रीले पूर्ण सहयोग रहने प्रतिबद्धता जनाएको बैठकले जनाएको छ ।
परिषद्ले भोटेकोशी–त्रिशूली बाढी तथा अन्य मनसुनजन्य विपद्बाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारप्रति समवेदना व्यक्त गरेको छ ।
खोज, उद्धार, राहत तथा पुनर्स्थापनामा खटिएका सुरक्षाकर्मी, जनप्रतिनिधि, राष्ट्रसेवक, निजी क्षेत्र, स्वयंसेवक, सञ्चारकर्मी तथा सहयोग गर्ने दातृराष्ट्र र विकास साझेदारप्रति पनि परिषद्ले धन्यवाद व्यक्त गरेको छ ।