सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार
सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रम बनाउन गठित कार्यदलले न्यूनतम साझा कार्यक्रममो मस्यौदा तयार परेको छ । शुक्रबार बसेको कार्यदलको बैठकले सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रम तयार पारेको नेकपा ९एमाले०का उपाध्यक्ष तथा कार्यदलका संयोजक विष्णुप्रसाद पौडेलले बताउनुभएको हो । उहाँले आजको बैठकले सुझावसहित मस्यौदालाई पूर्णता दिएको जानकारी दिनुभयो ।
उहाँले कार्यदलले तयार पारेको सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रमको मस्यौदा आजै शीर्ष नेताहरूलाई बुझाउने तयारी रहेको बताउनुभयो । उहाँले साझा कार्यक्रममा संविधानको रक्षा, आर्थिक विकास र समृद्धि, अर्थतन्त्रका चुनौति समाधान, आम मानिसहरुमा आशा र विश्वास जगाउने, सार्वभौम सत्ता र स्वाधिनताको रक्षा गर्ने विषयलाई प्राथमिकता दिएको जानकारी दिनुभयो ।
संयोजक पौडेलले राष्ट्रलाई समृद्ध बनाउने, जनतालाई सुखी बनाउने, समृद्ध राष्ट्र सुखी नेपालको आकांक्षा पूरा गर्ने र देशलाई समाजवादतर्फ अगाडि बढाउने विषय पनि समावेश गरिएको बताउनु भयो । उहाँले कार्यदलले कार्यक्रमको मस्यौदालाई अन्तिम रुप दिएको भन्दै आवश्यक संशोधन गर्न परे शीर्ष नेताहरुले गर्ने बताउनु भयो ।
उहाँले साझा कार्यक्रममा सुशासनलाई प्राथमिकता दिएको बताउनु भयो । कार्यदलमा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल, नेकपा (माओवादी केन्द्र) बाट उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उपसभापति डा। स्वर्णिम वाग्ले र महासचिव मुकुल ढकाल, नेकपा (एकीकृत समाजवादी) पार्टीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल र जनता समाजवादी पार्टी (जसपा) बाट नेताद्वय राजेन्द्र श्रेष्ठ र मनिष सुमन सदस्य छन् ।