कांग्रेसद्धारा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग, संसद बैठक अवरुद्ध – Nepalboli

कांग्रेसद्धारा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग, संसद बैठक अवरुद्ध

   २०८० चैत्र २, शुक्रबार  

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको छ। प्रतिनिधि सभाको शुक्रबार बसेको बेठकमा कांग्रेसले गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको हो। लामिछानेलाई गृहमन्त्री बनाउनुको कारणबारे जबाफ माग्दै कांग्रेसले आज पनि संसदमा विरोध जनाएपछि सभामुख देवराज घिमिरेले कांग्रेस सांसद प्रदीप पौडेललाई बोल्ने समय दिएका थिए।

त्यसक्रममा सांसद पौडेलले प्रश्नै प्रश्न बोकेर लामिछाने गृहमन्त्री नहुनुपर्ने र प्रश्नै प्रश्नले घेरिएका उनलाई प्रधानमन्त्रीले गृहमन्त्री पनि नबनाउनुपर्ने बताए। ‘३१ हजार सहकारीमा ७३ लाख बचतकर्ता छन्। सहकारी सञ्चालकको सम्पत्तिबाट बचत फिर्ता दिनुपर्ने उनीहरूको माग छ,’ उनले भने, ‘ पीडितहरूले आन्दोलनबाट सिर्जना गर्ने अस्तव्यस्ततालाई सरकारले कसरी थेग्न सक्छ। गृहमन्त्रीलाई म आग्रह गर्न चाहन्छु, उच्च नैतिकताको आधारमा राजनीमा दिएर उदाहरण प्रस्तुत गर्नुस्।’

सबै प्रकरणमा छानबिन हुने ग्यारेन्टी र प्रधानमन्त्रीबाट त्यसअनुसारको प्रतिबद्धता नआएसम्म कांग्रेसले प्रश्न उठाइरहने पौडेलले बताए। कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिनुपर्ने माग गरेको छ ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा उपप्रधानमन्त्री लामिछानेले राजनीतिक दलसम्बन्धी ऐनको संशोधन विधेयक प्रस्तुत गर्ने कार्यसूची थियो । तर सभामुख देवराज घिमिरे उक्त कार्यसूचीमा प्रवेश गर्नुअघि नै कांग्रेस सांसदहरु उठेर अवरोध गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै