दंगा नियन्त्रणका लागि नेपाल प्रहरीमा छुट्टै ‘द्रुत कारबाही विशेष गण’ गठन हुँदै – Nepalboli

दंगा नियन्त्रणका लागि नेपाल प्रहरीमा छुट्टै ‘द्रुत कारबाही विशेष गण’ गठन हुँदै

   २०८३ मंसिर १४, आईतवार  

काठमाडौँ— हुलदङ्गा तथा भीड नियन्त्रणमा तत्काल परिचालन गर्न नेपाल प्रहरीले छुट्टै ‘द्रुत कारबाही विशेष गण’ गठन गर्ने तयारी अघि बढाएको छ ।

प्रहरी प्रधान कार्यालयले काठमाडौंमा रहने र प्रहरी हेडक्वार्टरकै प्रत्यक्ष मातहतमा परिचालन हुने गरी एसएसपीको कमान्डमा १ हजार प्रहरी रहने विशेष गण गठनको प्रस्ताव गृह मन्त्रालयमा पठाएको हो ।

प्रस्तावअनुसार विशेष गणका लागि १ हजार प्रहरीसहित प्राविधिक जनशक्तिका लागि समेत गरी कुल १ हजार ६७८ नयाँ दरबन्दी थप गर्न माग गरिएको छ । उक्त दरबन्दी थपका लागि अर्थ मन्त्रालयले सहमति दिइसकेको गृह मन्त्रालयका एक उच्च अधिकारीले बताएका छन् । अब प्रस्ताव मन्त्रिपरिषद्मा पठाउने तयारी छ ।

प्रस्तावित गणलाई केन्द्रीय रिजर्भ फौजका रूपमा विकास गर्ने अवधारणा अघि सारिएको छ । उपत्यका वा देशका अन्य क्षेत्रमा प्रदर्शन तथा हुलदङ्गा नियन्त्रण गर्न स्थानीय प्रहरी असमर्थ भएमा सम्बन्धित युनिटको मागअनुसार यो गणलाई तत्काल परिचालन गरिनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै