भोटेकोशी बाढी प्रभावित क्षेत्रमा वर्षाको पनि जोखिम, उद्धारमा चुनौती बढ्न सक्ने
काठमाडौं— रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा फेरि वर्षाको सम्भावना देखिएपछि खोज तथा उद्धार अभियानमा थप चुनौती आउन सक्ने मौसमविद्ले बताएका छन् ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हरिप्रसाद दाहालका अनुसार प्रभावित क्षेत्रमा शनिबार अधिकांश स्थानमा मध्यमसम्म वर्षा हुनसक्ने र एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । भारी वर्षाका कारण उद्धार तथा खोजी प्रभावित हुनसक्ने भएकाले उच्च सतर्कता अपनाउनुपर्ने उनको भनाइ छ ।
महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली तथा पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागका धेरै तथा मधेस र कोशीका तराई क्षेत्रका केही स्थानमा पनि मध्यम वर्षा हुनसक्नेछ ।
यस्तै, कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भूभाग, कर्णालीको पहाडी क्षेत्र तथा लुम्बिनी र सुदूरपश्चिमका पहाडी एवं तराई क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
शनिबार राति पनि कोशी, बागमती र गण्डकीका हिमाली क्षेत्रमा धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । अन्य हिमाली तथा पहाडी क्षेत्रमा समेत वर्षा हुनसक्ने महाशाखाको पूर्वानुमान छ ।
रातिको समयमा कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्रमा केही स्थानमा भारी तथा एक–दुई स्थानमा धेरै भारी वर्षा हुनसक्ने चेतावनी दिइएको छ ।
भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा खोज तथा उद्धार अभियान जारी रहेका बेला थप वर्षाको सम्भावनाले नदीको बहाव, पहिरो तथा गेग्रान बहावको जोखिम बढाउन सक्ने भएकाले उद्धारमा खटिएका सुरक्षाकर्मी तथा स्थानीयलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ ।