बाढी प्रभावित १५ स्थानीय तहलाई सरकारले ६ करोड ७५ लाख निकासा
काठमाडौं— रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित स्थानीय तहमा राहत तथा उद्धारका लागि सरकारले तत्काल ६ करोड ७५ लाख रुपैयाँ निकासा गरेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढीबाट प्रभावित १५ स्थानीय तहका लागि शुक्रबारसम्म उक्त रकम निकासा गरेको हो । प्राधिकरणका अनुसार क्षतिको अवस्था हेरेर अतिप्रभावित, प्रभावित र सामान्य प्रभावित स्थानीय तहलाई वर्गीकरण गरी रकम उपलब्ध गराइनेछ ।
प्राधिकरणको बिहीबार बसेको कार्यकारी समितिको ३५औँ बैठकले प्राधिकरणको कोषबाट रकम निकासा गर्ने निर्णय गरेको थियो । निकासा गरिएको रकम जिल्ला विपद् व्यवस्थापन समितिमार्फत सम्बन्धित स्थानीय तहलाई तत्काल राहतका लागि उपलब्ध गराइनेछ ।
कुन–कुन स्थानीय तहले पाउनेछन्
रकम रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका बाढी प्रभावित स्थानीय तहमा वितरण गरिनेछ ।
रसुवाः उत्तरगया, गोसाइँकुण्ड, कालिका र आमाछोदिङ गाउँपालिका
नुवाकोटः विदुर र बेलकोट नगरपालिका तथा तारकेश्वर र किस्पाङ गाउँपालिका
धादिङः बेनिघाट रोराङ, गजुरी, गल्छी र सिद्धलेख गाउँपालिका
गोरखाः गण्डकी गाउँपालिका
तनहुँः देवघाट र आँबुखैरेनी गाउँपालिका
प्राधिकरणले यी स्थानीय तहमा भएको क्षतिको आधारमा अनुदान सहायता उपलब्ध गराउने जनाएको छ ।
प्राधिकरणको निर्णयअनुसार केन्द्रीय विपद् व्यवस्थापन कोषबाट स्थानीय तहलाई विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधि, २०७९ बमोजिम जिल्ला विपद् व्यवस्थापन समितिमार्फत तत्काल राहत रकम उपलब्ध गराइनेछ ।
उक्त रकम बराबरको रकम अर्थ मन्त्रालयले विपद् व्यवस्थापन कोषमा शोधभर्ना गर्ने निर्णयसमेत भएको प्राधिकरणले जनाएको छ ।
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवासहित नुवाकोट, धादिङ, गोरखा र तनहुँका नदी तटीय क्षेत्रमा ठूलो क्षति पुर्याएपछि सरकारले राहत तथा पुनःस्थापनाका लागि तत्काल स्रोत परिचालन थालेको हो ।