फेरि ताल फुटेको सूचनापछि, स्थानीय नुवाकोट दरबारतर्फ उक्लिँदै
नुवाकोट— रसुवाबाट फेरि ताल फुटेको सूचना आएपछि त्रिशूली नदीको तल्लो तटीय क्षेत्रमा त्रास फैलिएको छ । सूचना फैलिएसँगै नुवाकोटका विभिन्न बजार क्षेत्रमा स्थानीय बासिन्दा सुरक्षित स्थानतर्फ लागेका छन् ।
नुवाकोट उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सन्तोष उप्रेतीका अनुसार ढुंगे, विदुर, बट्टार र गंगटेका स्थानीय बासस्थान तथा बजार छाडेर माथिल्लो क्षेत्रमा जान थालेका छन् ।
उनका अनुसार स्थानीयहरू उच्च भूभागमा रहेको नुवाकोट दरबारतर्फ उकालो लागिरहेका छन् । सम्भावित जोखिमबाट बच्न स्थानीयमा भागदौडको अवस्था सिर्जना भएको हो ।
रसुवातर्फबाट आएको ताल फुटेको सूचनाको आधिकारिक पुष्टि भने हुन बाँकी छ । त्रिशूली नदी आसपासका बासिन्दालाई सम्भावित जोखिमलाई ध्यानमा राख्दै सतर्क रहन र सुरक्षित उच्च स्थानतर्फ जान आग्रह गरिएको छ ।