विपद् उद्धार कोषमा ३६ घण्टामै पौने २ अर्ब संकलन
काठमाडौं —सरकारले सहयोगको आह्वान गरेको ३६ घण्टामै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड ८६ लाख रुपैयाँभन्दा बढी सहयोग रकम संकलन भएको छ ।
अर्थ मन्त्रालयका अनुसार बुधबार मध्याह्नदेखि बिहीबार राति १२ बजेसम्म विभिन्न १० वाणिज्य बैंकमा रहेको कोषको खातामा १ अर्ब ९१ करोड ८६ लाख ५० हजार ९११ रुपैयाँ जम्मा भएको हो ।
नेपाल–चीन सीमाबाट बग्ने भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्याएपछि सरकारले प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो। त्यसपछि विपद् प्रभावितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि कोषमा सहयोग जुट्न थालेको हो ।
सरकारले कोषमा रकम संकलन तथा त्यसको समन्वयका लागि अर्थ मन्त्रालयलाई फोकल मन्त्रालय तोकेको छ। अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले संस्थागततर्फ एक करोड रुपैयाँ वा सोभन्दा बढी सहयोग गर्ने दाताको रकम आफैंमार्फत स्वीकार गरिरहेका छन् ।
व्यक्तिगत रूपमा सहयोग गर्न चाहनेले भने मन्त्रालयमै पुगेर नगद रकम उपलब्ध गराउन सक्ने व्यवस्था गरिएको छ ।
नयाँ रकम थपिएसँगै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रहेको कुल बचत ४ अर्ब ९ करोड ११ लाख ६० हजार रुपैयाँ पुगेको छ । यसअघि कोषमा २ अर्ब १७ करोड २५ लाख ९ हजार ७५९ रुपैयाँ बचत थियो ।
यसैगरी, बिहीबार मात्रै ६ घण्टाको अवधिमा निजी क्षेत्रका दाताबाट अर्थ मन्त्रालयमार्फत २७ करोड ३३ लाख रुपैयाँ सहयोग प्राप्त भएको थियो ।
मन्त्रालयका अनुसार हालसम्म संकलित रकममा विभिन्न मित्रराष्ट्रले घोषणा गरेका सहयोग भने समावेश गरिएको छैन ।