भारतीय राजदूतावासद्धारा २२ औं स्वर्ण जयन्ती छात्रवृत्ति दिवस मनाईयो – Nepalboli

भारतीय राजदूतावासद्धारा २२ औं स्वर्ण जयन्ती छात्रवृत्ति दिवस मनाईयो

   २०८० चैत्र ३, शनिबार  

काठमाडौंस्थित भारतीय राजदूतावासले २०८० चैत्र २ गते दूतावास परिसरमा एक कार्यक्रमको आयोजना गरी २२ औं स्वर्ण जयन्ती छात्रवृत्ति दिवस मनाएको छ । उक्त कार्यक्रममा करिब २०० जना विद्यार्थीले सहभागीता जनाएका थिए ।

कार्यक्रममा धरानस्थित वीपीकोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा ज्ञानेन्द्र गिरी, लुम्बिनीस्थित लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्राडा सुवर्णलाल बज्राचार्य, धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा डा भोला थापा, चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्राडा पुण्य प्रसाद रेग्मी, विराटनगरस्थित पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा शैलेषमणि पोखरेल र जनकपुरस्थित राजर्षि जनक विश्वविद्यालयका उपकुलपति प्राडा अमर प्रसाद यादव उपस्थित थिए ।

कार्यक्रमममा नेपाल सरकारका वरिष्ठ अधिकारी, विभिन्न प्रतिष्ठित विद्यालयका डिन, रजिष्ट्रार र प्रधानाध्यापकको पनि उपस्थिति थियो ।

कार्यक्रममा नेपालका लागि भारतीय राजदूत श्री नवीन श्रीवास्तवले स्वर्ण जयन्ती छात्रवृत्ति प्राप्त गरेका पहिलो ब्याचका ९ जना विद्यार्थीलाई राजदूतको स्वर्ण जयन्ती छात्रवृत्ति रोल अफ अनर प्रदान गरेका थिए ।

मन्तव्यका क्रममा राजदूत श्रीवास्तवले २२ औं ब्याचका स्वर्ण जयन्ती छात्रवृत्ति विजेता विद्यार्थी तथा राजदूतको विशेष रोल अफ अनरको पहिलो संस्करण विजेता विद्यार्थीलाई बधाई दिनुका साथै आ–आफ्नो क्षेत्रमा उत्कृष्ट हुन प्रेरित गर्नुभयो । वहाँले भारतमा स्टार्ट अप इकोसिस्टम, इन्क्युबेशन सेन्टर आदिमा आबद्ध भई एवम् सहकार्य गरी युवाहरुका लागि सिर्जना गर्न सकिने अवसरहरु बारे बताउँदै विद्यार्थीहरुलाई सहकार्य गर्न सकिने क्षेत्रहरु खोज्न प्रोत्साहित गर्नुभयो ।

भारत र नेपालबीचको आर्थिक सहकार्य ५० वर्ष पूरा भएको उपलक्ष्यमा सन् २००२ मा प्रतिष्ठित स्वर्ण जयन्ती छात्रवृत्ति स्थापना गरिएको हो । पछिल्लो केही वर्षमा छात्रवृत्ति प्राप्त गर्नेको संख्या २०० पुगेको छ । यस छात्रवृत्ति योजना अन्तर्गत MBBS/BDS अध्ययन गर्ने विद्यार्थीले पाँच वर्षका लागि प्रत्येक महिना नेरु. ४०००, BE अध्ययन गर्ने विद्यार्थीले चार वर्षका लागि प्रत्येक महिना नेरु. ४००० र अन्य undergraduate कोर्ष जस्तैं BA, BEd, B.Pharmacy, BSc Agriculture, BBA, BBM, र BBS अध्ययन गर्ने विद्यार्थीले तीन वर्षका लागि प्रत्येक महिना नेरु. ३००० प्राप्त गर्दछन् ।

यस छात्रवृत्ति योजनाबाट नेपालका ७७ वटै जिल्लाका ३३०० भन्दा बढी नेपाली विद्यार्थी लाभान्वित भइसकेका छन् । छात्रवृत्ति पाएका यस पटकको ब्याचका विद्यार्थीहरु नेपालका ७६ जिल्लाबाट रहेका छन् जसमा ३२ प्रतिशत छात्रा छन् । यो वर्ष पाँच जना फरक क्षमता भएका विद्यार्थीलाई पनि छनौट गरिएको छ ।

नेपाल र भारतका विश्वविद्यालयमा undergraduate तथा graduate तहमा औषधी विज्ञान, इन्जिनियरिङ, दन्त विज्ञान, व्यवस्थापन, कमर्स, नर्सिङ, आयुर्वेद, नृत्य, नाट्य कला, पर्फमिङ आर्टस लगायत अन्य संकायका विषय अध्ययनका लागि भारत सरकारले झन्डै १६०० छात्रवृत्ति प्रदान गर्दछ । सन् २००१ यता ३८००० जना नेपाली विद्यार्थीले यो छात्रवृत्ति योजनाको लाभ उठाइसकेका छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै