कांग्रेसले गृहमन्त्रीको राजीनामा माग्ने कुरा सान्दर्भिक छैन- अर्थमन्त्री पुन
अर्थमन्त्री वर्षमान पुनले नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि आक्रमण गरिरहेको आरोप लगाएका छन् । अर्थमन्त्री पुनले कुनैपनि अभियोग पुष्टि नभई कांग्रेसले गृहमन्त्री लामिछानेको राजीनामा माग्ने कुरा सान्दर्भिक नभएको तर्क समेत गरेका छन ।
गृहमन्त्री लामिछाने सहकारी ठगीको मुद्दामा मुछिएको भन्दै कांग्रेसले नाराबाजी गर्दै सदन बैठक अवरुद्ध पारेको थियो । संसद भवन परिसरमा सञ्चारकर्मीमाझ मन्त्री पुनले सत्ता समीकरण परिवर्तन हुने क्रम चलिरहने सामान्य प्रक्रिया भएपनि त्यसैलाई लिएर कांग्रेसले गृहमन्त्रीको राजीनामा मागेर गैरजिम्मेवार बन्न नहुने बताए । उनले संयमताका साथ सदन बैठक सुचारु गराउन र विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफल सुचारु गराउनका लागि सहयोग गर्न पनि प्रमुख प्रतिपक्ष दल नेपाली काग्रेसलाई आग्रह गरे ।