आउदो आईतवार पोखरालाई ‘पर्यटन राजधानी’ घोषणा गरिदै – Nepalboli

आउदो आईतवार पोखरालाई ‘पर्यटन राजधानी’ घोषणा गरिदै

   २०८० चैत्र २, शुक्रबार  

गण्डकी प्रदेश सरकार र पोखरा महानगको अग्रसरतामा चैत ४ गते आइतबार हुने समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरालाई पर्यटनको राजधानी घोषणा गर्ने तय भएको छ । ०७८ कात्तिकमा गण्डकी प्रदेश सरकारले पोखरालाई पर्यटकीय राजधानी घोषणाका लागि सङ्घीय सरकारलाई अनुरोध गरेको थियो । त्यसअघि नै पटक पटक पोखरा महानगरले पर्यटकीय राजधानी घोषणा गर्न सङ्घ सरकारलाई औपचारिक प्रस्ताव पठाएको थियो ।

पोखरा महानगरका प्रमुख धनराज आचार्य पर्यटकीय राजधानी घोषणापछि पोखरा, आसपासका पालिका र प्रदेश सरकारले त्यसलाई कार्यान्वयन गर्न नीतिगत र बजेटसमेत व्यवस्था गर्ने बताउनुहुन्छ । “बारम्बार अनुरोध गर्दा पनि सङ्घ सरकारले घोषणा नगरेपछि हामीले गर्न लागेका हौँ । प्रदेश सरकार र हामी मिलेर यसलाई कार्यान्वयन गर्छौँ,” उहाँ भन्नुहुन्छ, “आउँदा नीति, कार्यक्रम र बजेटमा पनि प्राथमिकतामा पर्छ ।” प्रधानमन्त्रीबाट घोषणा भएपछि यसलाई कार्यान्वयनका लागि सङ्घ सरकारको समेत यथोचित साथ मिल्ने उहाँको विश्वास छ ।

पर्यटकीय राजधानी घोषणापछि अल्पकालीन, माध्यमकालीन र दीर्घकालीन योजना बनाएर यसलाई कार्यान्वयन गर्न गण्डकी प्रदेश सरकारले गठन गरेको अध्ययन समितिले सुझाएको छ । प्रतिवेदनले घोषणापछि आवश्यकता र प्राथमिकताका आधारमा पूर्वाधार विकास र प्रवर्धनका कार्यक्रम गर्दै जानुपर्ने उल्लेख गरेको छ ।

समितिले २० बुँदामा विभिन्न सुझावसमेत दिएको छ । अध्ययन समिति संयोजक एवम् प्रदेश नीति तथा योजना आयोगका प्रमुख डा कृष्णचन्द्र देवकोटा प्रतिवेदनले आवश्यक भौतिक पूर्वाधारदेखि सबै विषय समेटेको उल्लेख गर्नुभयो ।

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै