भारत सरकारको आर्थिक सहयोगमा नेरु ३.७९९ करोडको लागतमा निर्मित उदयपुर जिल्लाको श्री जनता बेलका माध्यमिक विद्यालयको विद्यालय भवनको प्रतिनिधि सभाका सांसद डा नारायण खड्का र भारतीय राजदूतावासका नियोग उपप्रमुख श्री प्रसन्न श्रीवास्तव र उदयपुरस्थित बेलका नगरपालिकाका मेयर श्री अशोक कार्कीले आज संयुक्त रूपमा उद्घाटन गरेका छन । कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी र सामाजिक कार्यकर्ताहरूको पनि उपस्थिति थियो ।
‘नेपाल-भारत विकास सहयोग’ अन्तर्गतको भारत सरकारको अनुदान विद्यालय भवन र अन्य सम्बद्ध सुविधाहरूको निर्माणमा प्रयोग गरिएको थियो । यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसीडीपी) को रूपमा लिइएको थियो र उदयपुरको बेलका नगरपालिका मार्फत कार्यान्वयन गरिएको थियो ।
श्री जनता बेलका माध्यमिक विद्यालय बेलका नगरपालिकाको पुरन्दहमा रहेको एक मात्र माध्यमिक विद्यालय हो । यो सन् १९६२ मा प्राथमिक विद्यालयको रूपमा स्थापित भएको थियो र पछि सन् १९७६ मा निम्न माध्यमिक विद्यालयको रुपमा स्तरोन्नति गरिएको थियो । सन् २००८ मा यसलाई उच्च माध्यमिक विद्यालयमा थप स्तरोन्नति गरिएको थियो । यस विद्यालयमा लगभग ५०० विद्यार्थीहरू रहेका छन्, जसमध्ये ५५५ छात्राहरू छन् ।
काठमाडौँस्थित भारतीय दूतावासका नियोग उपप्रमुख श्री प्रसन्न श्रीवास्तवले भारत सरकारको उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यक्रम अन्तर्गतको श्री जनता बेलका माध्यमिक विद्यालयको विद्यालय भवन निर्माण कसरी भारत र नेपाल बीचको बलियो र जीवन्त विकास साझेदारीको उत्कृष्ट उदाहरण हो भन्ने कुरामा प्रकाश पार्नुभयो । वहाँले वर्षौंदेखि रहिआएको यस साझेदारीको वृद्धि, विस्तार र विविधीकरणमा खुशी व्यक्त गर्नुभयो । वहाँले नेपाल सरकारको प्राथमिकतामा आधारित यो साझेदारीलाई थप सुदृढ पार्न भारत सरकारको प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
प्रतिनिधि सभाका माननीय संसद सदस्य, उदयपुरस्थित बेलका नगरपालिकाका मेयर, विद्यालय व्यवस्थापनका अध्यक्ष र अन्य सरोकारवालाहरूले नेपालका जनताको लागि भारत सरकारले गरेको विकास सहयोगको प्रशंसा गरे । उनीहरूले निर्माण गरिएको पूर्वाधारले उदयपुरको श्री जनता बेलका माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई राम्रो शिक्षा प्रदान गर्न उपयोगी हुने विश्वास व्यक्त गरे । यसले सिकाइको लागि उपयुक्त वातावरण सिर्जना गर्नुका साथै नेपालको पूर्वी क्षेत्रमा शिक्षा क्षेत्रको समग्र विकासमा योगदान पुर्याउन पनि मद्दत गर्नेछ ।