अर्थमन्त्री पौडेल धाईते- उपचार सुरु, अवस्था जोखिममुक्त – Nepalboli

अर्थमन्त्री पौडेल धाईते- उपचार सुरु, अवस्था जोखिममुक्त

   २०८१ फाल्गुन ३, शनिबार  

आगोको ज्वालाले बेलुन फुट्दा घाइते हुनुभएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरका प्रमुख धनराज आचार्यको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार सुरु भएको छ । अर्थमन्त्री पौडेलका प्रेस सल्लाहकार भुवन केसीकाअनुसार उहाँलाई दिउँसो ३ बजेतिर अस्पताल ल्याइको हो । मन्त्री पौडेलको हत्केला र अनुहार जलेको छ । यद्यपि अवस्था भने जोखिममुक्त रहेको जानकारी उहाँले बताउनुभयो ।

पोखरा भ्रमण वर्ष, २०२५ को उद्घाटनका क्रममा रिमोर्टबाट दीप प्रज्वलनपछि बेलुन उडाउने क्रममा आगोको ज्वालाले बेलुनमा टिपेपछि बेलुन पड्किएको थियो । बेलुनमा आगो टिपेपछि उहाँहरूको शरीरमा आगो सल्किएको थियो ।

दुवै जनालाई पोखरामा प्राथमिक उपचारपछि कीर्तिपुरस्थित बर्न अस्पतालमा ल्याइएको हो । वर्न अस्पतालका निर्देशक डा। किरण नकर्मीले दुवै जना अस्पतालमा भर्ना हुनुभएको र अहिले उपचार चलिरहेको बताउनुभयो ।

पोखरा भ्रमण वर्षको उद्घाटनमा बेलुन उडाउने क्रममा उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरका प्रमुख धनराज आचार्य घाइते हुनुभएको छ । पोखरा भ्रमण वर्ष लेखिएको ब्यानरसहितको बेलुन उडाउने क्रममा शनिबार दिउँसो बेलुन पड्किएको हो ।

सवा १ बजेतिर बेलुन पड्किदा नगर प्रमुख आचार्यको गालामा चोट लागेको छ भने उपप्रधानमन्त्री पौडेलको टाउको र अनुहारका विभिन्न ठाउँमा आगोका झिल्काले पोलेको छ । घटनापछि तत्कालै उपचारका लागि आचार्यलाई फिस्टेल अस्पताल र उपप्रधानमन्त्री पौडेललाई गण्डकी मेडिकल कलेजमा लगिएको छ ।

दुवै जना खतरामुक्त रहेको र उपचार जारी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक अविनाशदीप जिसीले जानकारी दिनुभयो । घटनाअघि उपप्रधानमन्त्री पौडेलले पोखरा भ्रमण वर्ष २०२५ उद्घाटन गर्नुभएको थियो ।

उच्च निगरानीमा उपचार गर्नुपर्छ- कीर्तिपुर अस्पताल
कीर्तिपुर अस्पतालले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरका प्रमुख धनराज आचार्यको अनुहार जलनको उपचारका लागि उच्च निगरानीमा राख्नुपर्ने बताएको छ।

पोखरा भ्रमण वर्षको उद्घाटनमा बेलुन उडाउने क्रममा बेलुन पड्किएर घाइते बन्नुभएका मन्त्री पौडेल र नगर प्रमुख आचार्यलाई उपचारका लागि कीर्तिपुर अस्पतालमा ल्याइएको हो। अस्पतालले विज्ञप्ति सार्वजनिक गर्दै प्रारम्भिक मूल्याङ्कनमा उहाँहरूको अनुहार ५–६ प्रतिशत जलेकाले उच्च निगरानीमा उपचार आवश्यक रहेको बताएको हो।

अस्पतालका निर्देशक किरण किशोर नकर्मीले सार्वजनिक गर्नुभएको विज्ञप्तिमा भनिएको छ, ‘उहाँहरूको प्रारम्भिक मूल्याङ्कन अनुसार ५-६ प्रतिशत जलेको तर अनुहारमा जलन भएकोले श्वासनली र फोक्सोमा असर पर्नसक्ने सम्भावना रहेकोले उच्च निगरानीमा उपचार गर्नुपर्ने आवश्यकता देखिन्छ।’

उहाँहरूको उपचारमा डा बिडी झा, डा प्रवीण गिरी, प्राडा शंकरमान राई, डा विशाल कार्की, डा मनिष यादव, डा प्रयुस अर्यालसँगै नर्सिङतर्फ रिना गौचन, निर्मला कुँवर, तृष्ण महर्जन संलग्न हुनुहुन्छ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै