सोनासती देवी मन्दिरमा पञ्चमीदेखि ‘तान्त्रिक मेला’, सीमापारिबाट समेत पुग्छन् श्रद्धालु
महोत्तरी— महोत्तरीको औरही नगरपालिका–७ भोइलस्थित प्रसिद्ध सोनासती देवी मन्दिरमा शारदीय नवरात्रसँगै लाग्ने परम्परागत तान्त्रिक मेलाको चहलपहल सुरु भएको छ । स्थानीयस्तरमा ‘सोनामाई’का नामले समेत परिचित यो शक्तिपीठमा नवरात्रको पञ्चमीदेखि नवमीसम्म विशेष मेला लाग्ने गर्छ ।
मन्दिरमा नवरात्रको पहिलो दिनदेखि नै देवी दुर्गाको नियमित पूजाआराधना सुरु भए पनि पञ्चमीदेखि भने ‘भूतमेला’का रूपमा चिनिने तान्त्रिक मेलाले विशेष रूप लिन्छ । परम्परागत विश्वासअनुसार दुष्टात्माको प्रभाव वा विभिन्न कष्टबाट पीडित मानिसहरू देवीको शरणमा पुगेर पुकारा गर्ने गर्छन् ।
मन्दिरका पुजारी केदार झाले नवरात्रको समयमा देवीको आराधना गर्दा कष्टबाट मुक्ति पाइने जनविश्वास रहेको बताए । उनका अनुसार मेलामा पीडितहरू मन्दिर परिसरमा रुँदै, कराउँदै देवीसँग आफ्नो कष्ट निवारणका लागि पुकारा गर्ने पुरानो परम्परा रहँदै आएको छ ।
पञ्चमीदेखि नवमीसम्म चल्ने मेलामा महोत्तरीसहित मधेसका विभिन्न जिल्लाबाट ठूलो संख्यामा श्रद्धालु आउने गरेका छन् । मकवानपुर, सिन्धुली र उदयपुरलगायत बागमती र कोशी प्रदेशका जिल्लाबाट समेत भक्तजन यहाँ पुग्ने गरेका छन् ।
त्यस्तै, भारतको बिहार राज्यका सीतामढी, मधुवनी, झञ्झारपुर, चम्पारन, शिवहर र मुजफ्फरपुरलगायत सीमावर्ती जिल्लाबाट समेत श्रद्धालु सोनासती देवीको दर्शन तथा पूजाआराधनाका लागि आउने गरेका छन् ।
स्थानीय धार्मिक विश्वासअनुसार देवी सोनासतीको पुकारा गरेपछि दुष्टात्मा वा अदृश्य शक्तिबाट भएको भनिएको कष्ट हट्ने र त्यसपछि जीवनभर त्यस्ता शक्तिको प्रभाव नपर्ने मान्यता छ । यही विश्वासका कारण मेलामा वर्षेनी ठूलो संख्यामा मानिस सहभागी हुने गरेका छन् ।
धार्मिक दृष्टिले भने नवरात्रलाई देवी दुर्गाको आराधना, शक्ति उपासनासँगै मातृशक्तिप्रति सम्मान र श्रद्धा व्यक्त गर्ने महत्वपूर्ण पर्वका रूपमा लिइन्छ । सोनासती मन्दिरको तान्त्रिक मेला यही धार्मिक तथा सांस्कृतिक परम्पराको एउटा विशिष्ट स्थानीय रूपका रूपमा रहँदै आएको छ ।