कांग्रेसको नेतृत्व टुंगियो, बाँकी पदको नतिजा आजै सार्वजनिक गर्ने तयारी – Nepalboli

कांग्रेसको नेतृत्व टुंगियो, बाँकी पदको नतिजा आजै सार्वजनिक गर्ने तयारी

   २०८३ आश्विन २९, बिहीबार  

काठमाडौँ— नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन प्रक्रिया अन्तिम चरणमा पुगेको छ । सभापति, उपसभापति र महामन्त्रीको परिणाम आइसकेपछि निर्वाचन समितिले बाँकी पदको मतगणना तीव्र बनाउँदै आज बेलुकीसम्म सम्पूर्ण परिणाम सार्वजनिक गर्ने तयारी गरेको छ ।

निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार विभिन्न समूहमा भइरहेको मतगणना सम्पन्न गरेर आजै सबै पदको अन्तिम परिणाम सार्वजनिक गरिनेछ ।

सभापतिमा गगनकुमार थापा भारी मतान्तरसहित निर्वाचित भइसकेका छन् । कूल ७ हजार १३ मत खसेकामा ५४ मत बदर भएको थियो । सदर मतमध्ये थापाले ६ हजार ५८४ अर्थात् ९४ दशमलव ६ प्रतिशत मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ अर्थात् ५ दशमलव ४ प्रतिशत मत पाएका थिए ।

उपसभापतितर्फ विश्वप्रकाश शर्मा वरिष्ठ उपसभापति र पुष्पा भुसाल महिला उपसभापतिमा निर्विरोध निर्वाचित भएका छन् । खुला उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी ५३ दशमलव १ प्रतिशत र ई. मधु आचार्य ३३ प्रतिशत मतसहित निर्वाचित भएका छन् । समावेशी उपसभापतिमा विनोदकुमार चौधरीले २४ दशमलव ८ प्रतिशत मत प्राप्त गर्दै निर्वाचित भएका छन् ।

महामन्त्रीतर्फ खुलामा प्रदीप पौडेलले ५९ दशमलव ६ प्रतिशत र उदयशमशेर राणाले ३२ दशमलव ८ प्रतिशत मत प्राप्त गरी निर्वाचित भएका छन् । महिला महामन्त्रीमा डिला संग्रौलाले ४४ दशमलव ३ प्रतिशत मतसहित विजय हासिल गरेकी छन् ।

सहमहामन्त्रीतर्फ पनि केही पदको परिणाम सार्वजनिक भइसकेको छ । खुलामा रामहरि खतिवडा र अजयबाबु शिवाकोटी, महिलातर्फ प्रतिमा गौतम, आदिवासी जनजातितर्फ बहादुर सिंह लामा तथा पिछडिएको क्षेत्रतर्फ जीवनबहादुर शाही निर्वाचित भएका छन् ।

केन्द्रीय सदस्यतर्फ विभिन्न क्लस्टरको परिणाम सार्वजनिक भए पनि केही समूहको मतगणना अझै जारी छ । निर्वाचन समितिले सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा छुट्टाछुट्टै समूह बनाएर मतगणना गरिरहेको छ ।

गत असोज १८ गतेदेखि सुरु भएको कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज २३ गते मतदान भएको थियो । सभापतिको परिणाम असोज २४ गते बिहानै सार्वजनिक भए पनि ठूलो संख्यामा रहेका अन्य पदको मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन समय लागेको हो ।

निर्वाचन समितिले बाँकी मतगणना सकेर आज बेलुकीसम्म कांग्रेसको नयाँ केन्द्रीय कार्यसमितिको पूर्ण तस्वीर सार्वजनिक गर्ने लक्ष्य राखेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै