मधेशी राजनीतिमा पुस्तान्तरणको बहस: पुरानै नेतृत्व कि नयाँ पुस्तालाई अवसर?
काठमाडौँ— मधेशी समाज बदलिँदै गए पनि राजनीतिक नेतृत्व र दलहरूको कार्यशैली भने अपेक्षित रूपमा रूपान्तरण हुन नसकेको भन्दै मधेशी राजनीतिमा नेतृत्व पुस्तान्तरण, आन्तरिक लोकतन्त्र र नयाँ राजनीतिक एजेण्डा निर्माणको बहस चर्किएको छ ।
शहीद संजय चौधरी स्मृति प्रतिष्ठानले आयोजना गरेको ‘मधेशः अबको बाटो’ संवाद शृङ्खलाअन्तर्गत ‘मधेश आन्दोलनको समीक्षा’ विषयक कार्यक्रममा सहभागी वक्ताहरूले मधेशी राजनीतिको वर्तमान अवस्थाको समीक्षा गर्दै पुरानो शैलीबाट अघि बढ्न नसकिने धारणा राखे ।
कार्यक्रममा जनता समाजवादी पार्टीका केन्द्रीय सदस्यबाट हालै राजीनामा दिएका विक्की यादवले मधेशी समाजमा परिवर्तन आए पनि पुराना राजनीतिक दलहरू नेतृत्व जोगाउने रणनीतिमै सीमित रहेको आरोप लगाए । बदलिँदो सामाजिक आवश्यकता र जनताको अपेक्षाअनुसार दलहरू रूपान्तरण हुन नसकेको उनको भनाइ थियो ।
पत्रकार स्नेहा झाले मधेशले समयअनुकूल आफ्ना राजनीतिक एजेण्डा पुनःनिर्धारण गर्न नसकेको बताइन् । उनका अनुसार नयाँ पुस्ताले बदलिँदो राजनीतिक, सामाजिक र आर्थिक परिस्थितिलाई आधार बनाएर मधेशका प्राथमिकता तय गर्न आवश्यक छ ।
मधेश प्रदेशका पूर्वमन्त्री सुरेश मण्डलले लामो राजनीतिक यात्राका बाबजुद मधेशी राजनीतिले एउटा सशक्त र टिकाउ राजनीतिक पार्टी निर्माण गर्न नसकेको टिप्पणी गरे ।
युवा अभियन्ता आभाष गुरुले मधेशका लागि स्वशासनसँगै सुशासन पनि उत्तिकै महत्वपूर्ण रहेको बताए । अधिकारको प्रश्नसँगै शासन प्रणाली, सेवा प्रवाह र जवाफदेहितालाई पनि राजनीतिक एजेण्डाको केन्द्रमा राख्नुपर्ने उनको धारणा थियो ।
संविधानसभा सदस्य विमल केडियाले मधेशको सामाजिक, आर्थिक तथा राजनीतिक अवस्थामाथि तथ्यमा आधारित बहस आवश्यक रहेको बताए । त्यसका लागि व्यवस्थित डाटाबेस र अनुसन्धानमा लगानी गर्नुपर्ने उनको भनाइ थियो ।
जनअधिकार पार्टीका अध्यक्ष डा. शरद सिंह यादवले मधेशी राजनीतिमा स्थानीय सम्भावनालाई आर्थिक शक्तिमा रूपान्तरण गर्न नसकिएको उदाहरण प्रस्तुत गरे । सप्तरीको आँप र बरमझियाको पेडासमेत प्रभावकारी रूपमा ब्रान्डिङ गर्न नसक्नु मधेशी राजनीतिको कमजोरीको एउटा संकेत भएको उनले बताए । आफ्नै उत्पादन, पहिचान र सम्भावना हुँदाहुँदै त्यसलाई व्यवस्थित रूपमा बजार र आर्थिक अवसरसँग जोड्न नसकिएको उनको भनाइ थियो ।
जनता लोकतान्त्रिक पार्टीका अध्यक्ष अशोक यादवले मधेशी राजनीतिक दलभित्र आन्तरिक लोकतन्त्र कमजोर रहेको टिप्पणी गरे । पार्टीभित्र लोकतान्त्रिक अभ्यास कमजोर हुँदा पुराना मधेशी दलहरू विघटनको संघारमा पुगेको उनको दाबी थियो ।
मधेशी जनअधिकार फोरमका संस्थापक नेताले पनि नेतृत्व पुस्तान्तरणको अभावलाई मधेशी राजनीतिको प्रमुख समस्यामध्ये एकका रूपमा औँल्याए । स्थापना कालदेखि नेतृत्वमा रहेका नेताहरूले नयाँ पुस्तालाई जिम्मेवारी हस्तान्तरण गर्न अनिच्छा देखाएको उनको भनाइ थियो ।
प्रतिष्ठानका संरक्षक संजय यादवले पुराना राजनीतिक दल र नेताप्रति जनविश्वास कमजोर हुँदै गएको बताए । मधेशमा नयाँ अभियानमार्फत नयाँ राजनीतिक शक्ति निर्माण गर्नुपर्ने आवश्यकता रहेको उनले बताए ।
कार्यक्रममा राष्ट्रिय मुक्ति पार्टीका नेता सन्तोष मेहता, गायक रविराज साह, नेता तथा गायक आभाष लाभ, पत्रकार प्रतिमा चौधरी, उपप्राध्यापक रामबाबु मण्डल, मनिष मण्डल, रमण कर्ण लगायत युवा राजनीतिकर्मी तथा अभियन्ताहरूको सहभागिता थियो ।
प्रतिष्ठानकी अध्यक्ष तथा शहीद संजय चौधरीकी बहिनी ममता चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन मधेशी अभियन्ता एवं अधिवक्ता आनन्द गुप्ताले गरेका थिए ।
दसैँ, तिहार तथा छठ पर्वको अवसरमा आयोजित संवाद शृङ्खलामा मधेश आन्दोलनका उपलब्धि, कमजोरी र आगामी राजनीतिक दिशाबारे बहस गरिएको थियो । कार्यक्रममा उठेको साझा प्रश्न भनेको मधेशी राजनीतिले पुरानै नेतृत्व र शैलीलाई निरन्तरता दिने कि नयाँ पुस्तालाई नेतृत्वमा स्थापित गर्दै नयाँ एजेण्डासहित अघि बढ्ने भन्ने रहेको थियो ।