दसैँको घरफिर्ती तीव्र, नौ दिनमै २ लाख ७ हजार यात्रु काठमाडौँबाट बाहिरिए – Nepalboli

दसैँको घरफिर्ती तीव्र, नौ दिनमै २ लाख ७ हजार यात्रु काठमाडौँबाट बाहिरिए

   २०८३ आश्विन २६, सोमबार  

काठमाडौँ— बडादसैँ नजिकिएसँगै राजधानी काठमाडौँबाट घर फर्किने यात्रुको चाप बढेको छ । पछिल्लो नौ दिनमा मात्रै काठमाडौँको नयाँबसपार्कबाट २ लाख ७ हजारभन्दा बढी यात्रु बाहिरिएका छन् ।

नयाँबसपार्क सञ्चालन गर्दै आएको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक पङ्कज मल्लका अनुसार असोज १७ देखि २५ गतेसम्म २ लाख ७ हजार २५१ यात्रु नयाँबसपार्कबाट विभिन्न जिल्लातर्फ प्रस्थान गरेका छन् ।

दसैँमा परिवार तथा आफन्तसँग भेटघाट गरी चाडपर्व मनाउन राजधानीमा अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायमा आबद्ध नागरिक गाउँ फर्किने क्रम बढेसँगै नयाँबसपार्कमा यात्रुको चाप बढेको हो ।

मल्लका अनुसार असोज १७ गते १८ हजार ७२९, १८ गते १९ हजार ५३०, १९ गते २३ हजार १६, २० गते २९ हजार ६०२, २१ गते २२ हजार २८८, २२ गते २५ हजार २०१, २३ गते ३१ हजार २३५, २४ गते १६ हजार ९७० र २५ गते २९ हजार ३८० यात्रु बाहिरिएका छन् ।

दसैँका लागि घर फर्किने यात्रुको संख्या बढेसँगै यातायात व्यवसायीलाई यात्रु व्यवस्थापनमा समेत चुनौती थपिएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव डेकनाथ गौतमले सडकको अवस्थाका कारण यातायात व्यवस्थापनमा समस्या भइरहेको बताए ।

उनका अनुसार असोज २३ गते अग्रिम बस टिकट बुकिङ खुला भएकै दिन धादिङको गलौँदीस्थित पृथ्वी राजमार्ग भासिएपछि सवारी आवागमन अवरुद्ध भएको थियो । त्यसका कारण लामो दूरीका धेरै सवारीसाधन काठमाडौँमै रोकिँदा यात्रु व्यवस्थापनमा थप समस्या भएको गौतमले बताए ।

महासङ्घले दसैँमा यात्रा गर्ने यात्रुलाई टिकट काटेर मात्र यात्रा गर्न, तोकिएको भाडा तिर्न तथा सवारीसाधनको अवस्था जाँच गरेर मात्र यात्रा गर्न आग्रह गरेको छ ।

दसैँ परिवार, आफन्त र समुदायबीच भेटघाट तथा सम्बन्ध प्रगाढ बनाउने पर्व भएकाले रोजगारी र अध्ययनका लागि राजधानीमा बस्दै आएका नागरिक हरेक वर्ष ठूलो संख्यामा घर फर्किने गरेका छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै