प्रि-मनसुनमा ४५ वर्ष यताकै बढी वर्षा – Nepalboli

प्रि-मनसुनमा ४५ वर्ष यताकै बढी वर्षा

   २०८३ असार ४, बिहीबार  

काठमाडौ । नेपालमा यस वर्षको प्रि-मनसुन अवधिमा विगत ४५ वर्षयताकै सर्वाधिक वर्षा रेकर्ड भएको छ ।  जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त अवधिमा देशभर औसत ३३९.७७ मिलिमिटर वर्षा मापन गरिएको छ, जुन औसत २२६.३ मिलिमिटरको १४५ दशमलव ५ प्रतिशत हो । विभागका मौसमविद् सञ्जिव अधिकारीले प्रि–मनसुन समयमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायु सक्रिय हुनु तथा अत्यधिक गर्मीका कारण प्रि–मनसुनमा अत्याधिक वर्षा भएको जानकारी दिनुभयो ।

विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सन् २०२६ मा भएको ३३९.७७ मिलिमिटर वर्षा प्रि–मनसुन अवधिको सबैभन्दा बढी वर्षा हो । यसअघि सन् १९९० मा ३३१.४० मिलिमिटर वर्षा भई उच्च रेकर्ड कायम भएको थियो । तथ्याङ्कअनुसार सन् २००० मा ३२३ दशमलव १९ मिलिमिटर, सन् २०२१ मा ३१७.८८ मिलिमिटर र सन् २०२० मा ३१५.७८ मिलिमिटर वर्षा भएको थियो । यस वर्षको वर्षाले ती सबै रेकर्डलाई उछिनेको विभागले जनाएको छ ।

विभागका अनुसार प्रि–मनसुन अवधिमा औसतभन्दा उल्लेख्य बढी वर्षा हुनु जलवायु प्रणालीमा देखिएको परिवर्तनको सङ्केत हुन सक्छ । यस अवधिमा देशका विभिन्न क्षेत्रमा चट्याङ, हावाहुरी, असिना तथा भारी वर्षाका घटनासमेत बढेको देखिएको छ ।

विभागका अनुसार यस वर्षको प्रि–मनसुन वर्षा सन् १९९० यताकै मात्र नभई उपलब्ध अभिलेखमा सबैभन्दा उच्च रहेको रेकर्डका रूपमा दर्ता भएको छ ।

भैरहवामा ४१.५ डिग्री तापक्रम, विभिन्न जिल्लामा भारी वर्षा
देशका विभिन्न क्षेत्रमा भारी वर्षा जारी रहँदा तराईका क्षेत्रमा तापक्रम पनि ह्वात्तै बढेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा गोरखा, मोरङ, सुनसरी र झापामा भारी वर्षा भएको छ । गोरखामा ७१.८, मोरङमा ६१.८, सुनसरीमा ५१.४ र झापामा ७१.२ मिलिमिटर वर्षा भएको छ ।

यसअघि हिजो झापामा १०३ मिलिमिटरमाथि वर्षा भएको मापन गरिएको थियो ।उक्त जिल्लामा भारी वर्षा हुँदा देशका अन्य क्षेत्रमा तापक्रम बढिरहेको विभागका सूचना अधिकारी दिनकर कायस्थले जानकारी दिनुभएको छ । विभागका अनुसार पछिल्लो अभिलेख अनुसार भैरहवामा ४१.५ डिग्री तापक्रम मापन भएको छ । यस्तै नेपालगन्जमा ४०.४ डिग्री तापक्रम भएको छ । धनगढीमा ३८.८ डिग्री तापक्रम रेकर्ड भएको छ ।

अन्य जिल्लामा पनि तापक्रम बढेको छ । काठमाडौँमा पनि तापक्रम बढेर ३१.३ डिग्रीमा पुगेको छ । मौसम विज्ञान विभागका सूचना अधिकारी कायस्थका अनुसार आज धनगढी, वीरेन्द्रनगर, नेपालगन्ज, घोराही, भैरहवा र सिमरामा तातो दिन हुने सम्भावना छ। हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव रहेको जनाइएको छ । विभागले आज जारी गरेको मौसम बुलेटिन अनुसार आज देशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्ने तथा कोशी र मधेश प्रदेशका तराई भू–भागमा आंशिक बादल लाग्ने छ ।

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन, चट्याङसहित मध्यमसम्मको वर्षा, हिमपातको सम्भावना छ ।

कोशी र मधेश प्रदेशको तराईका पनि एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानहरू तथा बागमती र गण्डकी प्रदेशका तराई भू–भागका थोरै स्थानमा पनि तातो दिन हुने सम्भावना रहेको जनाइएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै