केपी ओली संसद् विघटन गर्ने गृहकार्यमा छन- पुन – Nepalboli

केपी ओली संसद् विघटन गर्ने गृहकार्यमा छन- पुन

   २०८१ फाल्गुन ३, शनिबार  

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले प्रधानमन्त्री केपी ओलीले कुनै पनि बेला संसद् भंग गरेर मध्यावधि निर्वाचन घोषणाको गृहकार्यमा रहेको आरोप लगाएका छन् । माओवादी केन्द्र भोजपुरको अरुण गाउँपालिकाको दोस्रो अधिवेशनको शनिबार उद्घाटन गर्दै पुनले ओलीबाट लोकतान्त्रिक प्रणाली र लोकतन्त्रमाथि जहिले पनि खतरा रहेको बताएका हुन् ।

पुनले प्रमुख सत्तारुढ घटक कांग्रेस नेताहरूलाई ओलीको सम्भावित अलोकतान्त्रिक कदमप्रति सचेत गराए । विगतमा पनि संसद् भंग गरेको उदाहरण दिँदै उनले आफूले त्यतिबेला गरेको संसद् विघटन सही थियो भन्ने पुष्टि गर्ने प्रयास ओलीबाट हुने दाबी गरे । त्यसैको पूर्वअभ्यासका रूपमा ओलीले अध्यादेशबाट शासन चलाउने प्रयास गरिरहेको टिप्पणी पुनको छ ।

‘ओलीजीलाई लोकतान्त्रिक प्रणाली र संसद्जस्ता लोकतान्त्रिक संस्थाहरू मन पर्दैन’, पुनले भने, ‘विगतमा गरेको संसद् विघटनलाई हामीले सडकबाट असफल पारेका थियौँ । उहाँको मनमा अहिले पनि आफ्नो पुरानो कदम सही पुष्टि गर्नुपर्छ भन्ने सोच छ । यसमा सचेत रहन म काँग्रेस नेताहरूलाई आग्रह गर्न चाहन्छु । उहाँले फेरि संसद् विघटन गरेर मुलुकलाई मध्यावधिमा धकेल्ने दुस्साहस गर्नुहुनेछ, यसमा सचेत रहनुस् ।’

कुण्ठा र बदला भावबाट ग्रस्त ओली निरंकुश, स्वेच्छाचारी र व्यक्तिवादी चरित्रको नेता भएको आरोप पुनले लगाए ।

कांग्रेस समर्थनमा आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राम्रोसँग सरकार चलाइरहेका बेला ओलीले पटकपटक भेटेर नेकपाको एकता टुटाउनु आफ्नो कमजोरी भएको स्वीकार गर्दै दुई पार्टी मिल्न अनुनय विनय गरेपछि कांग्रेस छाडेर एमालेसँग सहकार्य भएको पुनले उल्लेख गरे । तर, सरकार बनेको केही महिनामै ओलीले धोका दिएको उनको भनाइ छ ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै