दस करोड खर्चेर गरिँदैछ दामोदरकुण्ड र याकखर्क जोड्ने सडकको स्तरोन्नति – Nepalboli

दस करोड खर्चेर गरिँदैछ दामोदरकुण्ड र याकखर्क जोड्ने सडकको स्तरोन्नति

   २०८१ फाल्गुन ३, शनिबार  

गण्डकी प्रदेश सरकारले मुस्ताङको दामोदरकुण्ड र याकखर्क जोड्ने सडक स्तरोन्नतिका लागि १० करोड रूपैयाँ बजेटको स्रोत सुनिश्चितता गरेको छ। आर्थिक मामिला मन्त्रालयले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय अन्तर्गत चालु आर्थिक वर्ष २०८१-८२ मा ठेक्का प्रक्रिया अघि बढाउने गरी मुस्ताङका दुई सडकलाई ५-५ करोड बजेटको स्रोत सुनिश्चिता गरेको हो।

घरपझोङ गाउँपालिका–२ मार्फादेखि धमाङ– आलुबारी– याकखर्क र लोघेकर–दामोदरकुण्ड गाउँपालिकाको केन्द्र चराङ देखि सुरखाङ–यारा–घारा हुदै घुयुमा ठाटी सम्मको सडक स्तरोन्नति योजना छनौट भएको मुस्ताङको प्रदेशसभा १(२) बाट निर्वाचित प्रदेश सभा सदस्य बिकल शेरचनले जानकारी दिए।

‘भौतिक मन्त्रालयले छनोट र अर्थ मन्त्रालयले स्रोत सहमति दिएपछि पूर्वाधार विकास कार्यालय मुस्ताङलाई ठेक्का प्रक्रिया अघि बढाउने बाटो खुलेको छ,’ उनले भने, ‘दुई वटै सडक पर्यटन, पशुपालन र कृषिको हिसाबले महत्वपूर्ण छ।’

करिब १३ किलोमिटर दुरीको मार्फा–धमाङ–आलुबारी सडकमा पर्ने मार्फाको पुरानो वस्ति धमाङमा ठूलो स्याउ बगैचा छ। परापूर्व कालमा मार्फाका बासिन्दाले आलु खेती गर्ने आलुबारी क्षेत्र जडिबुटी खेती र दृष्य अवलोकनका हिसाबले महत्वपूर्ण छ।

याकखर्क धौलागिरी चक्रीय पदमार्ग हुदै म्याग्दी तर्फ जाने र आउने बाटोमा पर्छ । यसबाट धौलागिरी हिमाल आरोहण र पदयात्राका लागि जाने आउने पर्यटकहरुलाई सहज हुनेछ् । याकखर्क, आलुबारी क्षेत्रमा याकचौरीको खर्क छ।

हिन्दु र वौद्ध धर्मवालम्बीहरुको साझा तिर्थस्थल दामोदर कुण्ड जाने चराङदेखि सुरखाङ–यारा–घारा हुदै घुयुमा ठाटी सडकबाट स्थानीयबासीका साथै दामोदरकुण्ड जाने आउने तिर्थयात्री र पर्यटकहरुलाई सहज हुने मुस्ताङ प्रदेशसभा १(१) बाट निर्वाचित प्रदेश सांसद नम्दु गुरुङले बताए।

धार्मिक, पर्यटन र पशुपालनका हिसाबले यो सडकको महत्व भएको उनले बताए।

गत वर्ष वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको १, २ र ३ नम्बर वडा जोड्ने रानीपौवा–झोङ–तेताङ र गुरुङको निर्वाचन क्षेत्रमा लोमान्थाङको पर्खाल वरपरको सडकलाई पक्की बनाउने १०र१० करोड बजेटको योजना सुरू भएको थियो।

रानीपौवा–झोङ–तेताङ सडकलाई कालीगण्डकी कोरिडोरको जोमसोम–कोरला सडकको छुसाङ–कागबेनी खण्डको विकल्पका रुपमा पनि प्रयोग गर्न सकिन्छ । कागबेनी–मुक्तिनाथ–उपल्लो मुस्ताङ आवत जावत गर्न सहज हुनेछ।

दुई वटै योजना ठेक्का मार्फत निर्माणाधिन रहेका पूर्वाधार विकास कार्यालय मुस्ताङका प्रमुख अजय श्रेष्ठले बताए।

यस वर्ष झोङ–छेङ्गुर सडकमा पर्ने खोलामा मोटरेबल पुल निर्माणका लागि ९ करोड १२ लाख बजेटको स्रोत सुनिश्चितता गराउने प्रक्रीया अन्तिम चरणमा रहेको प्रदेश सांसद शेरचनले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै