नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठक काठमाडौमा जारी
नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठक काठमाडौंस्थित होटल याक एण्ड यतिमा सुरु भएको छ । बैठकमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र भारतीय विदेशमन्त्री डा एस जयशङ्करसहित प्रतिनिधिमण्डल सहभागी हुनुहुन्छ ।
तीन वर्षपछि हुन लागेको बैठकमा विद्युत, व्यापार,आपसी सीमा समस्या, हवाई रूटलगायत विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। बिहीबार नै सिंहदरबारमा ऊर्जामन्त्री शक्ति बस्नेतको उपस्थितिमा नेपाल र भारतबीच दीर्घकालीन व्यापार विद्धुत सम्झौतामा हस्ताक्षर भएको थियो। सम्झौतामा नेपालका ऊर्जासचिव गोपाल सिग्देल र भारतका ऊर्जा सचिव पंकज अग्रवालले हस्ताक्षर गरेका थिए।
परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा भारतले नेपाललाई दिंदै आएको सहयोग रकम बढाउने सम्झौतामा पनि हस्ताक्षर हुँदैछ। भारतले नेपाललाई प्रदान गर्दै आएको उच्च प्रभाव सामुदायिक विकास परियोजना ९एचआइसिडिपी० अन्तर्गतको रकम २० करोड रुपैयाँ पुर्याउन गरेको प्रस्तावमा नेपालले सहमति जनाएको छ।
नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री जयशङ्करसहितको प्रतिनिधिमण्डल बिहीबार बिहान काठमाडौं आइपुगेको हो ।
बैठकमा सहभागी हुनुअघि राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्रमन्त्री साउदसँग शिष्टाचार भेट गर्नुभएको थियो ।