नागरिक उन्मुक्ति पार्टीको प्रथम राष्ट्रिय अधिवेशन टीकापुरमा हुने
नागरिक उन्मुक्ति पार्टीले कैलालीको टीकापुरमा प्रथम राष्ट्रिय अधिवेशनको आयोजना गर्ने भएको छ । यही पुस २६, २७ र २८ गते हुने नागरिक उन्मुक्ति पार्टीको प्रथम अधिवेशनको उद्घाटनका लागि प्रधानमन्त्री पुष्पकमल दाहल ‘प्रचण्ड’ कैलाली आउने तय भएको जनाइएको छ । प्रधानमन्त्री प्रचण्डसँगै पार्टीका शीर्ष नेतहरू पनि टीकापुर आउनुहुने कार्यक्रम रहेको पार्टीका संरक्षक रेशमलाल चौधरीले जानकारी दिए ।
यसैगरी, चौधरीले भारतीय जनता पार्टीका प्रतिनिधिहरू पनि टीकापुर आउने जानकारी दिए । चौधरीले भने , ‘‘प्रमुख अतिथि प्रधानमन्त्री हुनुहुन्छ । साथै माधव नेपाल, बाबुराम भटराई, सिके राउत र उपेन्द्र यादव पनि आउँदै हुनुहुन्छ ।’’
धनगढीमा बुधबार बिहान पत्रकार सम्मेलनको आयोजना गरेर पार्टीका संरक्षक चौधरीले पार्टीको प्रथम अधिवेशनमा आठ हजार प्रतिनिधि टीकापुर सहभागी हुने पनि जानकारी दिए । नागरिक उन्मुक्ति पार्टीले २४६ निर्वाचनबाट र २५५ जनालाई मनोनीत गर्ने छ । अधिवेशन तीन दिनसम्म टीकापुरमा सञ्चालन हुने छ ।
टीकापुर घटनाको जगमा स्थापना भएको नागरिक उन्मुक्ति पार्टी ५२ जिल्लामा विस्तार भएको जनाइएको छ । चौधरीले कारागारबाटै नागरिक उन्मुक्ति पार्टीको स्थापना गरेका थिए । पार्टीको केन्द्रीय कार्यालय कैलालीको टीकापुर मै रहेको छ ।