नेपालमा दलहरूका बीचमा भाइचाराको संस्कार छ – देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कडा प्रतिस्पर्धाका बाबजुद पनि नेपालमा दलहरूबीच भाइचाराको संस्कार रहेको बताएका छन् । ४८ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसमा पार्टीले कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सोमबार गरेको कार्यक्रममा बोल्दै सभापति देउवाले नेपालमा एकै मञ्चमा दलका नेताहरू देख्दा विदेशी छक्क पर्ने गरेको बताए।
‘नेपाल सानो देश हो। पार्टीका वैचारिक मतभेद र पार्टीगत प्रतिस्पर्धा भए पनि नेपालमा एउटा राम्रो कुरा के छ भने सबै पार्टीहरू एक ठाउँमा बस्ने संस्कार बनेको छ, सायद धेरै कम देशमा यो संस्कार छ। मान्छे छक्क पर्छन्,’ देउवाले भने, ‘जस्तो कांग्रेसको महाधिवेशन, जन्मजयन्ती मनाउँदा विदेशबाट आएका मानिस त छक्कै पर्छन्।’
दलहरूबीच कडा प्रतिस्पर्धाका बाबजुद पनि मेलमिलापको संस्कार रहेको देउवाले बताए। ‘दलहरूबीच कडा प्रतिस्पर्धा पनि हुने गर्छ। हामीहरूका बीचमा बोलीचालीदेखि आपसमा भाइचाराको वातावरण छ, यस्तो धेरै कम देशमा छ,’ देउवाले भने, ‘बिपी कोइरालाले ल्याएको मेलमिलापको नीतिमा यसको केही न केही प्रभाव छ।’
सभापति देउवाले सबै दलहरूलाई एक भएर जान पनि आह्वान गरेका थिए। उनले बिपीले लिएकै मेलमिलापको नीति आफूहरूले अपनाएको दाबी गरेका थिए।
उनले संघीय लोकतान्त्रिक गणतन्त्रप्रति दलहरू एक रहेको बताए। ‘गणतन्त्रको विकल्प गणतन्त्रबाहेक अरू केही हुन सक्दैन,’ देउवाले भने, ‘राष्ट्रका महत्वपूर्ण बुँदामा केन्द्रित भएर दलहरूबीच छलफल गर्दै एक भएर जाऔं।’