काँग्रेसले कुनै अवसर नपाएकालाई राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार बनाउने
सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसले राष्ट्रियसभा निर्वाचनमा हालसम्म कुनै अवसर नपाएका योग्य तथा लोकप्रिय व्यक्तिलाई उम्मेदवार बनाउने कुरालाई प्राथमिकता दिने भएको छ । आइतवार पार्टी केन्द्रीय कार्य समिति बैठकको निर्णय सार्वजनिक गर्दै पार्टीका प्रचार विभाग प्रमुख मिन विश्वकर्माले पार्टीले राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार बनाउन सो कुरालाई प्राथमिकता दिने बताउनु भएको हो ।
भौगोलिक, जातीय, क्षेत्रीय सन्तुलन, संसदीय क्षेत्रमा योगदान दिनसक्ने, पार्टीप्रति प्रतिवद्ध र स्वच्छ छवि भएकालाई राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार बनाउने मापदण्ड बैठकले तय गरेको पनि उहाँले बताउनु भयो ।
प्रचार विभाग प्रमुख विश्वकर्माले भन्नुभयो, ‘‘राष्ट्रिय सभा निर्वाचनका लागि सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुको बीचमा सहमतीको आधारमा साझा उम्मेदवार बनाउने र नेपाली काँग्रेसले उम्मेदवार प्रस्तुत गर्दा विधान धारा ३२ को उपधारा बमोजिम प्रदेश कार्य समितिको सिफारिस भई आएको नामहरु मध्ये भौगोलिक, जातीय, क्षेत्रीयलाई समेत ध्यानमा राखेर पार्टीमा योगदान गरेका, संसदीय क्षेत्रमा योगदान गर्नसक्ने क्षमता भएका, पार्टीप्रति प्रद्धिवद्ध स्वच्छ छवि भएका, हालसम्म कुनै पनि अवसर नपाएका वा विभिन्न कारणले अवसरबाट वञ्चित भएका योग्य तथा लोकप्रिय व्यक्तिलाई प्राथमिकता दिइनेछ ।’’
नेपाली काँग्रेसले यसअघि नै सो निर्वाचनमा गठबन्धन दलहरुको तर्फबाट साझा उम्मेदवार उठाउने निर्णय गरिसकेको छ । राष्ट्रिय सभाको रिक्त हुने २० सिटमध्ये १९ सिटमा लागि आगामी माघ ११ गते निर्वाचन हुँदैछ ।
थप्यो ६ भ्रातृ संस्थाको म्याद
नेपाली कांग्रेसले ६ भ्रातृ संस्थाका म्याद थप गर्ने निर्णय समेत गरेको छ। पुस १२ देखि १४ गतेसम्म सानेपामा चलेको केन्द्रीय कार्यसमिति बैठकले भ्रातृ संस्थाका म्याद थप गर्ने निर्णय गरेको हो। प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माका अनुसार नेपाल तरूण दल, नेपाल विद्यार्थी संघ, नेपाल महिला संघ, लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, नेपाल किसान संघ र नेपाल प्रजातन्त्र सेनानी संघको म्याद थप गर्ने निर्णय भएको छ।
यी भ्रातृ संस्थामा तदर्थ समिति गठन गरिएकोमा छ महिने म्याद सकिएको थियो।
तदर्थ समिति गठन गरिएका भ्रातृ संस्थालाई महाधिवेशन गर्ने शर्तसहित छ महिना म्याद थप गर्ने निर्णय भएको छ,’ विश्वकर्माले भने। कांग्रेसले लामो समयदेखि नेविसंघ, तरूण दललगायत भ्रातृ संस्थाको महाधिवेशन गर्न सकेको छैन। महाधिवेशन गर्न भन्दै कांग्रेसले पटक पटक तदर्थ समिति गठन गर्दै भ्रातृ संस्था चलाउँदै आएको छ।